सुशील कोइरालाको निधनकोे केहीबेरपछि एक्कासि बेहोस भएका कांग्रेस नेता नरहरि आचार्यलाई मस्तिष्कघात

नेपाली कांग्रेस सभापति सुशील कोइरालाको निधनकोे केहीबेरपछि एक्कासि बेहोस भएका कांग्रेस नेता नरहरि आचार्यलाई मस्तिष्कघात भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
राजधानीको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत् आचार्यको उच्च रक्तचापका कारण मस्तिष्कको नसा फुटेको उपचारमा संलग्न वरिष्ठ स्नायुरोग विशेषज्ञ डा. उपेन्द्र देवकोटाले जानकारी दिए ।
नसा फुटेपछि मस्तिष्कमा जमेको रगतलाई हटाउन औषधि चलाइएको र यस्तो अवस्थामा तत्काल शल्यक्रिया गर्न नमिल्ने डा. देवकोटाले जानकारी दिए ।
आचार्यको स्वास्थ्य अवस्थाकोबारेमा जानकारी दिन मंगलबार दिउँसो अस्पतालमा गरिएको पत्रकार सम्मेलनमा डा. देवकोटाले आचार्यलाई अतिसघन उपचारकक्षमा राखिएको र उनको अवस्था गम्भीर तर स्थीर रहेको बताए ।
मस्तिष्कघातका कारण आचार्यको शरीरको दाहिने भागमा पक्षघात भएको छ । आँखा खोलेपनि आचार्य बोल्न नसक्ने अवस्थामा रहेको डा. देवकोटाले बताए ।
मंगलबार बिहान कोइराला निवासमा बेहोस भएलगत्तै आचार्यलाई राजधानीको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो ।
उनको मुटुमाभन्दा पनि मस्तिष्कमा समस्या देखिएपछि गंगालालले न्यूरो अस्पताल रिफर गरेको थियो ।
आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु अस्पताल पुगेका छन् ।
उपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि आचार्यको स्वास्थ्यबारे जानकारी लिन अस्पताल पुगेका थिए । – इमेजखबरमा समाचार छ ।