पूर्वप्रधानमन्त्री सुशील कोइरालाको दाहसंस्कार विद्युतीय शवदाहगृहमा गरिने

world news
गए राति निधन भएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको दाहसंस्कार विद्युतीय शवदाहगृहमा गर्ने तयारी गरिएको छ। पशुपतिमा माघ १० गतेदेखि सञ्चालनमा आएको गृहमा अन्त्योष्टी गर्ने पार्टीले तयारी गरेको हो।
भर्खरै १३ औ महाधिवेशनमा काठमाडौं क्षेत्र न ४ बाट महाधिवेशन प्रतिनिधिमा चयन भएका तथा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव सुशील नाहटाले यसको तयारी सुरु गरेका हुन्। उनले केही बेर अघि कोषका केही कर्मचारीसँगै विद्युतीय शवदाहगृहको स्थलगत अवलोकन गरिसकेका छन् ।
‘पार्टीले विद्युतीय शवदाह गृहमै अन्तिम संस्कार गर्ने निर्णय गरिसकेको छ,’ नाहटाले नागरिकसँग भने, ‘अब परिवारको अनुमति पाए उहाँको अन्तिम संस्कार विद्युतीय शवदाहगृहमै हुन्छ।’ परिवारको अनुमतिबारे बुझ्न लागिरहेको नाहटाले जानकारी दिए।
सर्वसाधरणमा राम्रो सूचना जान्छ भन्दै यस्तो तयारी गरिएको उनले जानकारी दिए। यसअघि पशुपतिको घाट व्यवस्था निर्देशिका २०७२ ले राष्ट्रिय नेताको दाहसंस्कार आर्यघाटको १ नम्बर चितामा गर्ने अधिकार दिएको छ। निर्देशिकाले सो घाटमा अन्त्येष्टि गरेबापत दर्ताशुल्क मात्रै ५ हजार रुपैयाँ लिने व्यवस्था गरेको छ।
काठको प्रयोगबाट प्रदुषण बढेको भन्दै पशुपतिमा कोषले लामो प्रयासपछि विद्युतीय शवदाह गहृको स्थापना गरेको थियो। ५ वर्षको स्थलगत कामपछि मात्र गृहको उद्घाटन गरिएको थियो। गृहको वाहिरपट्टी मलामीहरु बस्नको लागि व्यवस्थापनको काम अहिले चलिरहेको छ।
लामो समयदेखि दाउरामै सिमिति पशुपति घाटमा विद्युतीय मेसिनमा शव जलाउन २४ घण्टा नै सेवा दिनेगरि करिब ५५ मिनेटमै लास जलाउँन मिल्ने सुविधा छ। नागरिकन्युजमा समाचार छ ।