प्रमुख दलद्धारा मुलुकको समस्या समाधान गरेर भारत भ्रमणमा जान प्रधानमन्त्री ओलीलाई सुझाव

मुलुकको समस्या समाधान गरेर भारत भ्रमणमा जान प्रमुख दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
प्रमुख तीन दल र मधेसी मोर्चासहित कार्यदलको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा शीर्ष नेताहरुले मधेस समस्या सामधान गरेर भारत भ्रमण गरे राम्रो सन्देश जाने भन्दै त्यसका लागि पहल गर्न सुझाएका हुन् ।
बैठकमा सहमतिका लागि कार्यदललाई फेरि सक्रिय बनाउने सहमति भएको छ । दलहरुबीच प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै प्रदेश सीमांकनको विवाद टुंग्याउन राजनीतिक संयन्त्र बनाउने सहमति पनि भएको छ ।
प्रधानमन्त्री ओलीको आह्वानमा बसेको बैठकमा तीन दल र मधेसी मोर्चाको कार्यदलले वार्ता तीव्र पार्ने र आइतबारसम्ममा राजनीतिक संयन्त्रको कार्यविधि टुग्याउने गृहकार्य थालेको छ ।
बैठकपछि नेताहरुले छलफल परिणाममुखी भएको भन्दै अर्को बैंठकमा सबै विषय टुंग्याइने जानकारी दिए ।
मधेसी मोर्चाका नेताले पनि सहमतिका लागि आफूहरु लचिलो भएको भन्दै राज्य पुनसंरचना आयोग, संवाद समितिको प्रतिवेदनका आधारमा सीमांकनलगायतका विषयमा थप गृहकार्य गरेर अगाडि बढ्न सक्ने बताएको छ । – इमेजखबरमा समाचार छ ।