राष्ट्रिय मानवअधिकार आयोगले मधेस आन्दोलनबाट बढी प्रभावित जिल्लामा मानवअधिकारको अवस्था चिन्ताजनक र संवेदनशील रहेको निष्कर्ष निकालेको छ ।
आन्दोलनकाक्रममा ज्यान गुमाएका र घाइते भएका परिवारको मानसिक तथा आर्थिक अवस्था दयनीय रहेको पनि आयोगले जनाएको छ ।
मानवअधिकार आयोगका अध्यक्ष, सदस्य तथा सचिवसहितको टोलीले हालै सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाको समग्र मानवअधिकारको अवस्थाबारे स्थलगत् अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा ती जिल्लाहरुको मानवअधिकारको अवस्था चिन्ताजनक र संवेदनशील रहेको पाएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
आन्दोलनका कारण लामो समयसम्म सरकारी कार्यालयहरु बन्द हुँदा सर्वसाधारणले दोब्बर जरिवाना तिरेर राजश्व महसुल बुझाउनुपरेको तथा प्रहरीले गर्ने महत्वपूर्ण घटनाहरुको अनुसन्धानको काम-कारबाही अगाडि बढाउन नसकेको पनि जनाइएको छ ।
आयोगले आन्दोलनकाक्रममा घाइते भएकाहरुको विवरण संकलन गरी उनीहरुको निःशुल्क र प्रभावकारी उपचार गराउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । – इमेजखबरमा समाचार छ ।