लुम्बिनी र पशुपतिनाथलाई केन्द्र बनाएर धार्मिक पर्यटक बृद्धि गर्न छलफल थालिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय पर्यटन परिषद्को बैठकमा प्रधानमन्त्री केपी ओलीले नेपालका दुई ठूला धार्मिक स्थललाई केन्द्र बनाएर विकास गर्न सकिए धार्मिक पर्यटकको बृद्धि हुने बताए । उनले लुम्बिनीलाई बुद्धिष्ट सर्किट र पशुपतिनाथलाई हिन्दू सर्किट बनाउन सके धार्मिक पर्यटनको विकास हुने बताए ।
प्रधानमन्त्री ओलीले नेपाल प्राकृतिक रुपमा सुन्दर हुनुका साथै नेपालमा मात्रै पाइने गैडा जस्ता वन्यजन्तु र यार्सागुम्बा जस्ता जडिबुटीको आवश्यक प्रचारप्रसार गर्न सके पर्यटनको क्षेत्रमा सजिलै प्रगति हासिल गर्न सकिने बताए ।
उनले भूकम्पले ढलाएको धरहराबाट ऐतिहासिक धरोहर पुनर्निमाण राष्ट्रिय संकल्प अभियान मंगलबार शुरु गरिने जानकारी पनि दिए ।
बैठकमा पर्यटन व्यवसायीहरुले सन् २०२० सम्ममा २० लाख पर्यटक र सन् २०२५ सम्ममा ५० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुरुप पर्यटन परिषद्ले कार्यबिधि र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री अध्यक्ष र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उपाध्यक्ष र सबै मन्त्री सदस्य रहने परिषद्को कार्यसमितिमा २८ जना रहने व्यवस्था छ । इमेजखबरमा समाचार छ ।