प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत् पक्षहरुसँग वार्ता जारी रहेकाले देशले चाँडै निकास पाउने बताएका छन् ।
एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय संगठन (आइक्याप) सम्मेलनलाई सोमबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वार्ताबाटै राजनीतिक समस्या समाधान गरी मुलुकलाई स्थायित्व र विकासतर्फ अघि बढाइने बताए ।
उनले लामो समयको राजनीतिक संक्रमणले ग्रसित बनाएको नेपाली जनजीवन भूकम्प र नाकाबन्दीले थप कस्टकर बनेको भन्दै अब सबै एकजुट हुनुपर्ने बेला आएको स्पस्ट पारे ।
प्रधानमन्त्री ओलीले आन्दोलनरत् दलसँगको सकारात्मक वार्ता र नाकाबन्दी हटेसँगै देश विकासको पथमा गएको बताए ।
उनले मुलुकको पुनःनिर्माणका लागि उल्लेखनीयरुपमा अन्तर्राष्ट्रिय सहयोग आएको भन्दै सरकार भूकम्पपीडितको राहतमा क्रियाशील रहेको बताए ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले दक्षिण एसियाकै कडीकारुपमा आफूलाई स्थापित गर्न चाहेकाले सबै राष्ट्रसँग हातेमालो गर्दै शान्ति समृद्धि र विकासको गतिमा अघि बढ्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सबै राजनीतिक दल राष्ट्रिय अखन्डताका लागि एकजुट हुनुपर्ने बेला आएको बताए ।
आइक्यापका अध्यक्ष जोसे दे भेनोसियाले नेपाल अफ्ठेरो परिस्थितिबाट गुज्रिरहेको भन्दै एकजुट भएर अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतले राजनीतिक स्थायित्वको दिशामा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । – इमेजखबरमा समाचार छ ।