पाँच वर्षको प्रयासपछि नेपाल-भारतबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणले सफलता, थप ८० मेगावाट विद्युत् आयात हुने

पाँच वर्षको प्रयासपछि नेपाल-भारतबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणले सफलता पाएको छ ।
४ सय केभीको प्रसारणलाइनमध्ये १ सय ३२ केभी भोल्टेजस्तरमा चार्ज भएपछि भारतबाट थप ८० मेगावाट विद्युत् आयात हुने भएको छ ।
ढल्केवर-मुजफ्फरपु अन्तर्देशीय प्रसारणलाइनबाट ८० मेगावाट विद्युत् आयात गर्ने विषयमा नेपाल विद्युत् प्राधिकरण र भारत सरकारले तोकेको नोडल एजेन्सी विद्युत् व्यापार निगमबीच सोमबार उर्जा मन्त्रालयमा सम्झौता भएको हो ।
पहिलो चरणमा चार्ज हुने १३२ केभी भोल्टेजमा उक्त प्रसारणलाइनबाट यहि विहीबारभित्र ८० मेगावाट विद्युत् आयात हुनेछ ।
भारतबाट आयात हुने ८० मेगावाट विद्युत्को खरिद मूल्य प्रतियुनिट ७ रुपैयाँ ४ पैसा पर्ने प्राधिकरणले जनाएको छ ।
यो खरिद मूल्य आगामी ४ महिनाका लागि हुने प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले बताए ।
१ सय ४० किलोमिटर लामो प्रसारणलाइनबाट विद्युत् आयात हुँदा हालको विद्युत् अभावमा केहि मद्दत पु-याउने उर्जा मन्त्रालयका सचिव सुमन शर्माले बताए ।
४ सय केभी प्रसारणलाइन निर्माण सम्पन्नपछि १ हजार २ सयसम्म विद्युत् आयात-निर्यात गर्न सकिन्छ ।
यो सम्झौताले २०१४ अक्टोबर २१ मा नेपाल-भारतबीच सम्पन्न विद्युत् व्यापार सम्झौताको क्रियाशीलतासमेत भएको प्राधिकरणले जनाएको छ ।
भारतबाट थप ८० मेगावाट विद्युत् आयात भएपनि लोडसेडिङ कति घट्छ भन्ने विषयमा भने प्राधिकरणले केहि बताएको छैन । – इमेजखबरमा समाचार छ ।