अन्तत हवाई इन्धनको मूल्य घट्यो, पेट्रोल-डिजेलको यथावत

नेपाल आयल निगमले मगलबार राति १२ बजेबाट लागु हुने हवाई इन्धनको मूल्य घटाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले सोही अनुसार मूल्य घटाएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले हवाई इन्धन(आन्तरिक उडान) तर्फ प्रतिलिटर ५५ रुपैयाँ र हवाई इन्धन(अन्तर्राष्ट्रिय उडान)तर्फ प्रतिकिलो लिटर ५ सय ४९ डलर घटाएका छौं, निगमका निर्देशक मुकुन्द घिमिरेले भने, नयाँ मूल्य मंगलगबार राति १२ बजेबाट लागु हुनेछ ।
नयाँ मूल्य लागु भएपछि प्रति लिटर हवाई इन्धन(आन्तरिक उडान)को मूल्य १ सय ९ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानको प्रतिकिलो लिटर ९ सय ८१ डलर हुनेछ । यसअघि प्रतिलिटर हवाई इन्धन आन्तरिकको मूल्य १ सय ६४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर १५ सय ३० डलर थियो ।
निगमका अनुसार भारतीय आयल कर्पोरेसन(आइओसी)ले फेब्रुअरी १५ मा पठाएको आधारमा मूल्य समायोजन गरेको हो । सर्वसाधरणको दैनिक जीवनमा प्रयोग हुने पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यमा कुनै परिवर्तन गरिएको छैन ।
निगमले भने थप छलफलकै क्रममा रहेकाले नघटाएको जनाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य समायोजनबारे छलफल हुँदैछ, घिमिरेले भने । कान्तिपुरमा समाचार छ ।