प्रधानमन्त्री केपी ओलीको ६ दिने राजकीय भ्रमणका सिलसिलामा नयाँदिल्लीमा भेट्घाट कार्यक्रम जारी

प्रधानमन्त्री केपी शर्मा ओली भारतको ६ दिने राजकीय भ्रमणका सिलसिलामा शुक्रबार अपराह्न नयाँदिल्ली आइपुगेका छन् ।
उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले स्वागत् गरिन् ।
प्रधानमन्त्री ओलीको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतका राजदूत रणजित राय, प्रवासी नेपाली संघका अध्यक्ष लोकनाथ भण्डारी, यहाँस्थित नेपाली दूतावासका अधिकारी र भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत् गरे ।
प्रधानमन्त्री ओली विश्रामका निम्ति अहिले राष्ट्रपति भवनमा छन् । दिल्लीमा रहँदा उनी सोही भवनमा रहनेछन् ।
६६औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राजदूत उपाध्यायले शुक्रबारै साँझ बारखम्बा रोडस्थित नेपाली राजदूतावासमा आयोजना गर्ने स्वागत् समारोहमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ । रासस