भारतीय गृहमन्त्री राजनाथद्धारा नेपालका प्रधानमन्त्री ओलीको भ्रमणले नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको दावी

 भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको दावी गरेका छन्। 
 
उनले ओलीको भ्रमणले दुई देशवीच विगत केही समयदेखि रहँदै आएका  असमझदारी हटेको भन्दै  सम्बन्ध अझै प्रगाढ र सुमधुर बनेर अगाडि बढेको बताए।
 
१७ अकवर रोडस्थित आफ्नै निवासमा आइतबार विहान रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासहितका  नेपाली पत्रकारहरुको टोलीसंग कुराकानी गर्दै उनले ओलीको भ्रमणबाट नेपालले जारी गरेको संविधानमा भारतको समर्थन छैन भन्ने भ्रम हटेको दावी गरे। उनले संविधानसभामार्फत जनप्रतिनिधि र राजनीतिक दलहरुले बनाएको लोकतान्त्रिक संविधानमा भारतको असहमति भन्ने कुरा हुनै नसक्ने विश्वास ब्यक्त गरे।  
 
नेपालमा विद्यमान समस्या संबादको माध्यमबाट समाधान होस भन्ने पक्षमा भारत रहेको स्पष्ट पार्दै भने गृहमन्त्री सिंहले,’नेपालको समस्या नेपालीहरुले समाधान गर्ने हो यसमा भारतको त सद्भाव मात्रै हो। नेपालमा सीमांकनको विवाद मिलाउन  राजनीतिक संयन्त्र गठन भएको छ। म त्यस्को स्वागत गर्न चाहन्छु । संयन्त्रले सीमांकन छिटो टुङगो लगाओस्। संयन्त्रले विवाद मिलाउनेमा म आशाबादी छु।’
 
उनले नेपालमा राजनीतिक संक्रमणको अन्त्य एकोले अब नेपाल विकासको बाटोमा अघि बढनु पर्ने भन्दै त्यसमा भारतले सक्दो भारतले सहयोग गर्ने बताए। सेतोपाटीमा समाचार छ ।