भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण उपलब्धिमूलक र उद्देश्य पूरा भएको उल्लेख

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमण उपलब्धिमूलक भएको र आफ्नो भ्रमणको उद्देश्य पूरा भएको बताएका छन् । भारतले आफ्नो भ्रमणलाई राजकीय सम्मान दिएको र दुई देशबीच पछिल्लो समय उत्पन्न भएको तिक्तता हटेको भन्दै उनले भ्रमण सफल भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार ओलीले भ्रमणपछि दुई देशको राजनीतिक सम्बन्ध अझै उचाइमा पुगेको बताएका छन् । दुवै देशबीच भएका समझदारीहरुबाट दुवै देशको राजनीतिक, आर्थिक, विकास निर्माण र सांस्कृतिक सम्बन्धमा महत्वपूर्ण उपलब्धी प्राप्त भएको छ । ती समझदारी नेपालको हितमा छन् ओलीलाई उद्धृत गर्दै दाहालले बताए ।  
आफ्नो भ्रमणलाई राजकीय सम्मान दिएकोमा भारतीय राष्ट्रपति र प्रधानमन्त्रीप्रति अभार प्रकट गर्दै उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको आफ्नो वार्ता सौहाद्रतापूर्ण र फलदायी भएको पनि बताएका छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीे आज उत्तराखण्डस्थित तेह्री जलविद्युत् बाँधको अवलोकन गर्न जाने र आफैं दिल्ली फर्किएर राजनीतिक भेटघाटमा व्यस्त हुने पनि दाहालले जनाएका छन् । कान्तिपुरमा समाचार छ ।