तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण चालु आर्थिक वर्षको छैटौं महिनामा मूल्यबृद्धि १२ प्रतिशत नाघेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस महिनाको आर्थिक स्थितिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १२.१ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा यस्तो मुद्रास्फीति अहिलको तुलनामा आधाजसो ६.८ प्रतिशत रहेको थियो । यसै वर्षको मंसिर महिनामा मुद्रास्फीति ११.६ प्रतिशत रहेको थियो ।
मुख्यतया खाद्य तथा पेयपदार्थ समूहको मूल्य सूचकांक १५.२ प्रतिशतले बढेका कारण मूल्यबृद्धि दोहोरो अंकको उच्च मूल्यबृद्धि कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
गैर-खाद्य तथा सेवा समूहको मूल्य बृद्धिदर भने ९.७ प्रतिशत रहेको छ । मुद्रास्फीतिमा उच्च चाप पर्नुका कारणहरुमा दलहन तथा गेडागुडी, घ्यू तथा तेल, मसला, मासु तथा माछा, लत्ताकपडा तथा जुत्तालगायत उप-समूहहरुको मूल्यमा भएको उच्च बृद्धि रहेको छ ।
यी उप-समूहमध्ये दलहन तथा गेडागुडीको मूल्य ४६.९ प्रतिशत र घ्यू तथा तेलको मूल्य ३१.३ प्रतिशतले बढेको छ ।
साथै मसलामा १७.६ प्रतिशत, मासु तथा माछामा १६.८ प्रतिशत र लत्ताकपडा तथा जुत्ताको मूल्यमा १३.७ प्रतिशतले बृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
तराईमा जारी लामो बन्द हड्ताल तथा आपूर्ति व्यवस्थामा आएको व्यवधान जस्ता अन्तर्निहीत कारणहरुले मुद्रास्फीति बढ्दै गएको राष्ट्र बैंकको भनाइ छ ।
तराई क्षेत्रका नाकाहरुमा आवागमन सहज हुँदै गएबाट गत भदौ महिनादेखि सुरु भएको मूल्यबृद्धिको दबाब कम हुँदै जाने अपेक्षा पनि केन्द्रीय बैंकको छ ।
क्षेत्रगत् आधारमा समीक्षा अवधिमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी १३.८ प्रतिशत, पहाडमा १२.१ प्रतिशत, तराईमा १०.७ प्रतिशत र हिमालमा १० प्रतिशतले मूल्यबृद्धि भएको जनाइएको छ ।
नेपालको दक्षिणी सीमा नाकाहरुमा भएको अवरोध क्रमशः खुकुलो हँुदै गएकाले आगामी दिनहरुमा आर्थिक क्रियाकलापले सकारात्मक गति लिने अनुमान गरिएको केन्द्रीय बैंकले जनाएको छ । – इमेजखबरमा समाचार छ ।