सिन्धुपाल्चोक जिल्लामा भूकम्पपछिको दश महिनामा १३ बलात्कारका घटना भएका छन् । बलात्कृतमध्ये पाँच बालिका छन् ।
बलात्कार आरोपमा १३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा मुद्दा दर्ता भएको छ ।
०७२ जेठ २९ गते भोेताङको छिम्ती-१ बाट १५ वर्षीया बालिका बलात्कृत भइन् । राति ९ बजे उनलाई सोही गाविस बस्ने ५० वर्षीय ठेगा तामाङले जबर्जस्ती करणी गरेका हुन् ।
त्यस्तै जिल्लाको ठूलोसिरुबारी-३ बस्ने ५२ वर्षीय रामकृष्ण भन्ने कृष्णबहादुर गिरीबाट सोही स्थानकी १३ वर्षीया बालिका घरको टहरोमा बसिरहेको अवस्थामा बिहान ११ बजे आफ्नै घरमा बलात्कृत हुन पुगिन् ।
ठोकर्पा-३ मा रातको १२ बजे आफ्नै घरको टहरोबाट १४ वर्षीया बालिकालाई ३५ वर्षीय रामशरण पहरीले बलात्कार गरे । साँगाचोक-९ बस्ने २४ वर्षीय कोचम्फे भन्ने सरोज माझी र भोटसिपा-५ बस्ने ३६ वर्षीय पल्ले भन्ने सानो कुँवरले १४ वर्षीया भिन्नाभिन्नै दुई बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्व अधिकारी बताए ।
सिन्धुपाल्चोक जिल्लामा जबर्जस्ती करणी प्रमुख समस्याका रुपमा रहेको अधिकारीले बताए ।
त्यस्तै जिल्लाको विभिन्न ठाउँबाट विभिन्न मितिमा अन्य आठजना युवती तथा महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको बाह्रबिसे-३ बस्ने २७ वर्षीय अनिल थापा, भोटेचौर-४ बस्ने ३९ वर्षीय मोहनबहादुर तामाङ, इचोक-२ बस्ने ३२ वर्षीय मानबहादुर तामाङ, फुल्पिङकोट ६ बस्ने १८ वर्षीय सानुलामा योञ्जन, चोकटी-७ बस्ने ४६ वर्षीय माइला भन्ने बेदबहादुर राउत, घोर्थली-३ बस्ने २३ वर्षीय पूर्णबहादुर थामी, इचोक-७ बस्ने ५९ वर्षीय मानबहादुर पण्डित र बाँडेगाउँ-४ बस्ने २६ वर्षीय रमेश माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तमध्ये केहीको फैसला भइसकेको र केहीको बाँकी रहेको प्रहरीको भनाइ छ ।
अत्यधिक मादक पदार्थ सेवन, मानसिक रोग, सामाजिक परिवेशका कारण जबर्जस्ती करणीका घटना हुने गरेको जिल्लाका प्रहरी प्रमुख अधिकारीले बताए ।
जिल्लामा बलात्कारको घटना नघटोस् भनेर विभिन्न किसिमका सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको र गत वर्षको तुलनामा जबर्जस्ती करणीको घटनामा कमी आएको भए पनि यस्ता घटना घट्नु दुर्भाग्यपूर्ण भएको प्रहरी प्रमुख अधिकारीले उल्लेख गरे ।
आव ०७१/७२ मा सिन्धुपाल्चोक जिल्लामा जबर्जस्ती करणी गरेको अभियोगमा १० वटा मुद्दा दर्ता भएका थिए । (रासस)