गत वर्ष नवलपरासीको सुस्ता संरक्षणका लागि टेन्डर लगाएर काम थालेको भए पनि भारतीय सीमा सुरक्षा बलले उपकरण लान नदिएपछि काम अगाडि बढ्न सकेको छैन ।
नेपालको भूमि हुँदै आवश्यक सामान र कच्चापदार्थ सुस्तामा पु-याउन नसक्ने र भारतीय सीमा सुरक्षा बलले भारतको भूमि प्रयोग गर्न नदिने भएका कारण काम अगाडि बढ्न नसकेको जनताको तटबन्धन भरतपुरका आयोजना प्रमुख कृष्णराज पाठकले बताए ।
सुस्ता संरक्षण कार्यक्रम नदीले कटान गरेको स्थानमा ड्याम निर्माणको काम नेपाल सरकारका तर्फबाट सञ्चालन भइरहेको भए पनि पछिल्लो समयमा एसएसबीले खाल्डा खन्न लगिएको डोजर लगायतका मेसिनरी सामानलाई प्रवेशमा रोक लगाएर काम गर्न अवरोध गरेको आयोजना प्रमुख पाठकले बताए । भारतले सुस्ता बचाउ कार्यका लागि भूमि प्रयोग गर्न नदिँदा डुङ्गाको सहायताले ढुङ्गा बोकेको भए पनि उपकरण लैजान नपाएपछि काम अघि बढ्न सकेको छैन । सो क्षेत्रमा नदीमा पानीको मात्रा कम भएकाले डुङ्गासमेत राम्रोसँग सञ्चालन हुन नसकेको उनले उल्लेख गरे ।
सुस्ता संरक्षणका लागि गत आर्थिक वर्षमा सरकारले ६ करोड ८० लाख रुपैयाँमा पशुपति ब्रिट सञ्जीवनी जेभी कम्पनीलाई ठेक्का दिएको थियो । जसले २०७४ साल असार मसान्तसम्ममा काम सम्पन्न गर्नुपर्ने लक्ष्य राखेको थियो । जसबाट एक हजार ७०० मिटर नवलपरासीको सुस्ता गाविस-४ तर्फ ड्याम निर्माण गरिँदैछ । भारतीय भूमि प्रयोगका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतीय राजदूतावासलाई पत्र पठाइसकिएको भए पनि त्यसको जवाफ नआएका कारण अझै समस्यामा परेको कार्यालय प्रमुख पाठकले बताए ।
उनका अनुसार दुई महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत भारतीय राजदूतावासमा अनुमतिका लागि पत्र पठाइएको थियो । सो क्षेत्रमा गत वर्ष रु दुई करोड खर्च गरी काम गरिएको थियो । स्थानीय जेसिबी प्रयोग गरेर सो काम सम्पन्न गरेको भए पनि यस वर्ष भने त्यहीका जेसिबीसमेत प्रयोग गर्न भारतीय सीमा सुरक्षा बलले नदिएको उनले बताए । भरतपुरमा रहेको जनताको तटबन्धन कार्यक्रमले नारायणी नदीको चितवन र नवलपरासी क्षेत्रको तटबन्धन कार्य गर्दै आएको छ । (रासस)