जुम्लालाई प्रदेश नं ६ को सुन्दर सहर निर्माण गर्ने योजना तयार

एनेकपा (माओवादी) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले जुम्लालाई प्रदेश नं ६ को सुन्दर सहर निर्माण गर्ने योजना तयार गरिएको बताएका छन्। 
 
आन्तरिक पार्टी निर्माणको सन्दर्भमा बुधवार जुम्ला आइपुगेका नेता शर्माले पत्रकार भेटघाट कार्यक्रममा आफ्नो पार्टीले प्रदेश नं ६ को सबै कुरालाई समेटेर कार्य योजना निर्माण गरेको जनाए। प्रदेश नं ६ का इन्चार्जसमेत रहनुभएका नेता शर्माले भर्खरै मात्र यो प्रदेशको कार्ययोजना तयार गरी सुर्खेतमा सार्वजनिक गरेको बताए। 
कर्णाली ऐतिहासिक महत्वको प्रदेश भएपनि अन्य प्रदेशभन्दा कमजोर भएको औँल्याउँदै उनले १६ लाख २३ हजार जनसङ्ख्या रहेको यो प्रदेश सम्पन्न बनाउने परिकल्पना रहेको विचार व्यक्त गरे। 
 
विकास कर्णालीका हुम्ला, मुगु, डोल्पा र जुम्लाबाट सुरु गर्नुपर्ने उनको तर्क थियो । कर्णालीको जलस्रोत, कृषि र जडीबुटीलाई उच्चतम प्रयोग गरी समृद्धि हासिल गर्न पार्टीले यसलाई प्रमुखताका रुपमा लिएको बताइएको छ। 
 
मुलुकमा भ्रष्टाचार व्याप्त भएको र शक्ति केन्द्रमा मात्र भएकाले समानुपातिक विकास हुन नसकेको उनको आरोप थियो । राजनीतिक पक्ष यसको प्रधान दोषी रहेको जनाउँदै नेता शर्माले भ्रष्टाचारको विरुद्धमा जनचेतना जगाउनेखालका कार्यक्रम आफ्नो पार्टीले अघि सारेको बताए। 
 
आफू लेखा समितिको संयोजक हुँदा नै यसको खबरदारी गर्दै आएको बताउँदै उहाँले कर्मचारी वर्गलाई राजनीतिक नेताहरुलेसही दिशानिर्देश गर्न नसकेको औँल्याए। 
 
‘देश संविधानमय भइसकेकाले अब नवनिर्मित संविधानको कार्यान्वयन गर्नु मुख्य कार्यभार रहेको छ र ३०० कानुन निर्माण गर्नुपर्ने देखिन्छ,’ उनले भने। उनका अनुसार सरकारलाई आत्मनिर्भर अर्थतन्त्रको विकासतर्फ अघि बढ्न सुझाव दिइएको छ। 
 
भूकम्पले तहसनहस भएको नेपाल नाकाबन्दीबाट झनै थिलथिलो भयो । यसबाट सिर्जित भारत-नेपालबीचको तिक्तता हटाउन र बिग्रेको सम्बन्धलाई सुधार गर्न प्रधानमन्त्रीलाई सल्लाह दिएर पठाएका हौँ, उहाँले थप्नुभयो । रासस