एअर काष्ठमन्डपको विमान कालिकोटको चिल्खाया गाउँमा दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु, घाइते ९ जना

नेपालगन्जबाट जुम्लाका लागि उडेको एअर काष्ठमन्डपको विमान कालिकोटको चिल्खाया गाविस-२ चिल्खाया गाउँमा दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ । 
दुर्घटनामा परी चालक र सहचालकको मृत्यु भएको हो । शुक्रबार दिउँसो १ बजे उक्त विमान दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शी नन्द कटुवालले फोनमा जानकारी दिए ।
दुर्घटनामा परेको जहाजको फाइल तस्बिर
सो विमान गाउँदेखि करिब दुई सय मिटर टाढा गहुँ खेतमा खसेको थियो । ठूलो आवाज आयो, के रहेछ भनेर हेर्दा त जहाज मेरै अघिल्तिर खेतमा ठोक्कियो-प्रत्यक्षदर्शी कटुवालले भने ।
खेतमा विमानको अघिल्तिरको भाग ठोक्किएपछि अन्य यात्रु आफैं बाहिर निस्केका थिए । जहाजको ढोका आफैं खुल्यो, यात्रु घाइते अवस्थामा निस्किए-उनले भने ।
चालकदलका एक सदस्यको विमानभित्रै तथा अर्का व्यक्तिको दुर्घटना भएको अढाइ घन्टापछि मृत्यु भएको उपचारमा संलग्न चिल्खाया स्वास्थ्यचौकीका अहेव जंगबहादुर रावलले जानकारी दिनुभयो ।
एकजनाको विमानमै मृत्यु भइसकेको थियो, च्याप्पिएर रहेका कारण बाहिर निकाल्न सकिएन-अहेव रावलले भने ।
चालकदलका अर्का सदस्यको विमान दुर्घटनाको अढाइ घन्टापछि मृत्यु भएको उनले बताए ।
बाहिर निकालेको एक घन्टासम्म दुख्यो-दुख्यो भनेर कराइरहनु भएको थियो-अहेव रावलले भने-हामीले सक्दो उपचार गर्‍यौं तर बचाउन सकिएन । समयमै हेलिकोप्टर पुग्न सकेको भए सायद बाँच्थे कि ।
विमान दुर्घटनाको खबर पाएपछि गाउँदेखि आधाघन्टा टाढा रहेको स्वास्थ्यचौकीबाट रावलसहित स्वास्थ्य सहायक किशोर श्रेष्ठ, अर्का अहेव कमलबहादुर शाही र कार्यालय सहायक रनबहादुर खत्री दगुर्दै घटनास्थल आइपुगेका थिए ।
चारैजना स्वास्थ्यकर्मीले घाइते यात्रुको खेतमै उपचार गरेका थिए । घाइते ९ जनामध्ये पाँच पुरुष, तीन महिला तथा एक नाबालक रहेका छन् ।
घाइतेमध्ये जुम्ला पटमाराका लक्ष्मण खड्काको अवस्था चिन्ताजनक रहेको अहेव रावलले बताए ।
अरु यात्रुहरु जुम्ला चन्दननाथ नगरपालिका-६ का जगदम्बा खत्री गिरी, उनका एक वर्षीय छोरा अनिल गिरी, चन्दननाथ नगरपालिका-८ कार्कीवाडाकी लक्ष्मी सुनार, चन्दननाथ-५ का गणेश भट्टचन, उनकी छोरी सोनाली भट्टचन, चन्दननाथ-६ का मेघराज गिरी, चन्दननाथ-५ का धनञ्जय केसी तथा नुवाकोट थान्सिङ गाविस-३ घर भइ हाल काठमाडौं स्वयम्भू बस्दै आएका धु्रवप्रसाद भण्डारीको अवस्था खतरामुक्त रहेको छ ।
‘सबैजना होसमै छन्-उपचारमा संलग्न अहेव रावलले भने । घटनास्थलमा तीनघन्टा टाढाको पादमघाट प्रहरीचौकीबाट चारजना प्रहरी आएका छन् ।
घाइते यात्रुकाअनुसार विमानमा खराबी आएपछि चालकले विमानको अवस्था ठीक नभएको भन्दै सबै यात्रुलाई सचेत गराएका थिए ।
‘जहाजको अवस्था ठीक छैन, तपाइँहरु नआत्तिनुस्, सुरक्षित ठाउँमा विमान अवतरण गराउँछौं, हामी मरेपनि तपाइँहरुलाई बचाउँछौं-घाइतेलाई उद्धृत गर्दै अहेव रावलले भने ।
चालकले यात्रुलाई सचेत गराएको केही मिनेटमै विमान खेतमा अवतरण त भयो तर विमानको अघिल्तिरको भाग खेतमा धस्सिँदा चालकदलका दुबै सदस्यले ज्यान गुमाउनुपर्‍यो ।
एअर काष्ठमन्डपको ‘९ एन ए जेबी’को विमान नेपालगन्जबाट ९ जना यात्रु लिएर शुक्रबार दिउँसो १२ः३० बजे जुम्लाका लागि उडेको थियो । रासस