पाँचदेखि १७ वर्ष उमेर समूहका ३७ प्रतिशत बालबालिकालाई बालश्रममा लगाइएको छ जसमध्ये ३० प्रतिशत जोखिमपूर्ण अवस्थामा काम गरिरहेका पाइएको छ।
सहरी क्षेत्रका बालबालिका (१६ प्रतिशत) भन्दा ग्रामीण क्षेत्रका बालबालिकालाई (४१ प्रतिशत) बालश्रममा लगाउने बढी सम्भावना रहेको देखिएको छ।
बाल मृत्युदर, पोषण, बाल स्वास्थ्य, खानेपानी तथा सरसफाइ, प्रजनन स्वास्थ्य, प्रारम्भिक बाल विकास, शिक्षा तथा साक्षरता, बाल संरक्षण, एचआइभी तथा एड्स, आमसञ्चारमा पहुँच र सूचना तथा प्रविधिको प्रयोग, सूर्ती तथा मदिरा सेवनसँग सम्बद्ध सूचकहरू समावेश गरी तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कमा यी तथ्याङ्क समावेश गरिएको छ। नेपाल बहुसूचक सर्वेक्षण (एनमिक्स) २०७१ सालदेखिका प्राप्त प्रमुख नतिजाहरू सङ्कलन गरी सो तथ्याङ्क सार्वजनिक गरिएको हो।
‘सर्वेक्षणका क्रममा नेपालमा पाँच वर्षका बालबालिकामा हरेक तीन जनामध्ये एकजना (३० प्रतिशत) मा मध्यम वा अति कम तौल रहेको थियो। एक तिहाइभन्दा बढी (३७ प्रतिशत) बालबालिका मध्यम वा अधिक पुड्का थिए जसमा १६ प्रतिशत अति पुड्का थिए भने ११ प्रतिशत मध्यम वा उग्ररूपमा दुब्लो रहेका थिए। तीमध्ये पनि तीन प्रतिशत अति दुब्ला रहेका थिए – तथ्याङ्कमा भनिएको छ।
यस सर्वेक्षणमा १२ हजार ४०५ घरपरिवारलाई समेटेको थियो जसअन्तर्गत १५ देखि ४९ वर्षका १४ हजार १६२ महिला तथा पाँच वर्षमुनिका पाँच हजार ३४९ बालबालिकाका आमा र स्याहारकर्ताहरूसँग अन्तर्वार्ता गरिएको थियो।
यसबाहेक एक हजार ४९२ घरपरिवारमा खानेपानीको गुणस्तर पनि परीक्षण गरिएको थियो।
शिक्षा तथा साक्षरताबारे प्राथमिक शिक्षामा सरदर भर्तीदर अर्थात् प्राथमिक विद्यालयको पहिलो चरणमा जानसक्ने विद्यार्थी ४२ प्रतिशतमा निकै कम भएको सर्वेक्षणका क्रममा देखिएको छ।
प्राथमिक विद्यालयमा मिलाइएको वास्तविक उपस्थितिको अनुपात ७६ प्रतिशत थियो। साना बालबालिकाको पूर्वप्राथमिक विद्यालयमा वास्तविक उपस्थिति अनुपात ठूला बालबालिकाको दाँजोमा कम थियो र पूर्व विद्यालय जाने वा विद्यालय नजाने सम्भावना बढी थियो।
नेपालमा विगतको दशकमा खोपको व्यापकता भए तापनि १२ देखि २३ महिना उमेरका ६७ प्रतिशत बालबालिकाले मात्र आफ्नो पहिलो जन्मदिनपूर्व सिफारिस गरिएअनुसारका सबै खोप लिएका थिए।
माध्यमिक विद्यालय जाने उमेरका ६२ प्रतिशत बालबालिकाले हाल माध्यमिक विद्यालय वा उच्च शिक्षा लिइरहेका थिए, २७ प्रतिशतले अझै प्राथमिक विद्यालय जाने गरेका र ११ प्रतिशत विद्यालय नजाने गरेको पाइएको छ।
सर्वेक्षण अनुसार नेपालमा १५ देखि ४९ वर्ष उमेरका चारजनामा तीनजनाभन्दा बढी (७८ प्रतिशत) महिलाले एड्सबारे सुनेका छन् तर केवल चारमध्ये एक (२६ प्रतिशत)ले यसबारे विस्तृत ज्ञान हासिल गरेका केन्द्रीय तथ्याङ्क विभागका निर्देशक सुरेश बस्नेतले जानकारी दिए। उनका अनुसार पाँचमध्ये दुईजनाले (३८ प्रतिशत) आमाबाट बच्चामा एचआइभी सर्न सक्ने तीनवटै प्रक्रियाबारे सही जानकारी बताएका थिए।
त्यसैगरी, करिब ३६ प्रतिशत महिलामा विस्तृत जानकारी थियो, ४५ प्रतिशतमा आमाबाट बच्चामा एचआइभीे सङ्क्रमण हुनसक्ने तीन प्रक्रियाबारे जानकारी थियो र ६८ प्रतिशतलाई एचआइभी परीक्षण गर्ने स्थानबारे जानकारी थियो।
सञ्चार जगत्मा पहुँच र सूचना वा सूचना प्रविधिको प्रयोगलाई हेर्दा नेपालका १५ देखि ४९ वर्ष उमेरका सबै महिलामध्ये पाँच भागको एक भागले (१९ प्रतिशत) कमसेकम हप्ताको एकपटक पत्रिका पढ्ने गरेका छन्। ४१ प्रतिशतले रेडियो सुन्ने गरेका र ५७ प्रतिशतले टिभी हेर्ने गरेका थिए।
कुलमध्ये ११ प्रतिशत महिलाको हरेक हप्ता सञ्चारमाध्यमका तीनवटै प्रकारमा पहुँच हुने गरेको देखियो।
सूर्ती तथा रक्सीको प्रयोगलाई हेर्दा नेपालमा १५ देखि ४९ वर्ष उमेरका नौ प्रतिशत महिलाले एक वा सोभन्दा बढी दिनमा चुरोट सेवन गरेको वा सूर्तीजन्य पदार्थ खाएको बताएका छन्।
करिब चार प्रतिशत महिलाले १५ वर्ष पुग्नुअगावै एक खिल्ली चुरोट पूरा सेवन गरेको बताए। १५ देखि ४९ वर्ष उमेरका करिब १० प्रतिशत महिलाले विगतका महिनामा एक वा बढी दिनमा कमसेकम एक गिलास रक्सी खाएको र सात प्रतिशतले १५ वर्ष पुग्नुअगावै रक्सी चाखेको बताएका थिए। रासस