काष्ठमण्डप एयर कालिकोटको चिलखायामा भएको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन

सरकारले नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको ९ एन-एजेबी विमान आकस्मिक अवतरण गर्ने क्रममा कालिकोटको चिलखायामा भएको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन एक छानबिन समिति गठन गरेको छ । 
 
पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो। सदस्यमा हवाई महानिर्देशनालय नेपाली सेनाका प्रमुख सेनानी रवीन्द्र बस्नेत, गोमा एयरका वरिष्ठ इन्जिनियर रमेशकुमार सिंह र सदस्य सचिवमा मन्त्रालयमा सहसचिव हरिबहादुर खड्का रहेका छन्। 
 
मन्त्रिस्तरीय निर्णयबाट सो छानविन समिति गठन गरेको र समितिले दुई महिनाभित्र सत्यसत्य पत्ता लगाई प्रतिवेदन बुझाउन समय दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए।
 
विमान दुर्घटना हुँदा चालक दलका दुईसहित ११ जना रहेको विमानमा चालक र सहचालकको निधन भइसकेको छ। घाइतेको नेपालगञ्जको कोहलपुरमा उपचार भइरहेको छ। रासस