५ नम्बर प्रदेशको राजधानीका लागि दाङ नै उपयुक्त

सभामुख ओनसरी घर्तीले प्रस्तावित ५ नम्बर प्रदेशको राजधानीका लागि दाङ नै उपयुक्त भएको बताएकी छन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले शनिबार घोराहीमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले भनिन्- भौगोलिक, आर्थिक, सुरक्षालगायतको दृष्टिले दाङ नै राजधानीका लागि उपयुक्त भएकाले हामीले दाङलाई राजधानी बनाउन पहल गरिरहेका छौं ।’
पहिलो प्रादेशिकसभाले राजधानीको टुंगो लगाउने भएपनि राजधानीका लागि आवश्यक पर्ने विषयलाई ध्यानमा राखी अगाडि बढिने सभामुख घर्तीले बताइन् ।
व्यवसायीको सक्रियतामा निर्माण भएको दाङको धावनमार्गमा नियमित हवाई सेवा सन्चालनका लागि पहल गरिने प्रतिबद्धता जनाउँदै उनले ‘दाङको विकासका लागि सहिदमार्ग, मेडिकल कलेजलगायत योजनालाई प्रभावकारीरुपले उठाउनुपर्छ- भनिन् ।
‘संविधान जारी गर्दाको जस्तो दलीय एकताबिना संविधान कार्यान्वयनमा आउँदैन’- अर्काे प्रसंगमा उनले भनिन् । रासस