भूकम्पबाट प्रभावित पशुपालक किसानलाई लक्षित गरेर काभ्रेपलाञ्चोकमा खाद्य सुरक्षा पोषण कार्यक्रम सुरु

भूकम्पबाट प्रभावित पशुपालक किसानलाई लक्षित गरेर काभ्रेपलाञ्चोकमा खाद्य सुरक्षा पोषण कार्यक्रम सुरु भएको छ। 
 
जिल्ला पशुसेवा कार्यालयले जिल्लाको चण्डेनीमण्डन, गैरी, बिसौना, ज्याम्दी र महादेवस्थान गाविसमा पोषण कार्यक्रमअन्र्तगत गोठ निर्माण, बाख्रा वितरण, बङ्गुरका पाठा, कुखुरा चल्ला वितरणलगायतका काम गर्नका लागि स्थानीयस्तरमा समिति गठन गरिएको छ। पशु चिकित्सक मणि सापकोटाका अनुसार कार्यक्रमले पशुपालक किसानलाई जीविकोपार्जन गर्न सहयोग पुर्‍याउने छ। 
 
‘पोषण कार्यक्रमका लागि रु २२ लाख विनियोजन भएको छ,’ उनले भने। भूकम्पबाट पशु चौपाया मरेका पशुपालक किसानलाई बाख्रा वा बङ्गुरका पाठा दिने सापकोटाले बताए। त्यस्तै पशुसेवा प्रसार कार्यक्रमअन्तर्गत भूकम्पपीडित पशुपालक किसानलाई राहत उपलब्ध गराउन रु पाँच लाख विनियोजन भएको छ। गोठ सुधारका कार्यक्रम देवीटार र पाँचखाल नगरपालिकाका- १५ र १६ वडामा सञ्चालन हुने छ। 
 
छनोट भएका गाविस तथा नगरपालिकामा रु दुई लाख ५० हजारका दरले रकम वितरण हुने छ। भूकम्पबाट जिल्लामा पाँच हजार ८०० पशु मरेका थिए। रासस