अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलको सामान खरिद तथा मातहतका एकाइमा सामान ढुवानीमा रु ९ करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा पूर्वमहानिरीक्षक सनतकुमार बस्नेतसहित ७ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार २०६६ वैशाखदेखि २०६८ साउनसम्म बलको महानिरीक्षकका हैसियतमा कार्यरत् रहँदा बस्नेतलगायतले अनियमिततापूर्वक नक्कली बिल तथा भर्पाइ बनाइ राज्यकोषको हिनामिना गरेको अध्ययनबाट पाइएको छ ।
अभियुक्त सबैलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले बस्नेत र सशस्त्र प्रहरी निरीक्षक बिनबहादुर थापाले रु ९ करोड १५ लाख ८१ हजार १५१, सशस्त्र प्रहरी निरीक्षक मनुहिरा महतले रु ७३ लाख २३ हजार ९४५, सशस्त्र प्रहरी निरीक्षक शिवबहादुर अधिकारीले रु २३ लाख ५९ हजार १०, सशस्त्र प्रहरी नायब निरीक्षक देवेन्द्रकुमार श्रेष्ठले रु ८३ लाख ८३ हजार १३६, सशस्त्र प्रहरी नायब निरीक्षक नीलबहादुर श्रेष्ठले रु एक करोड छ लाख ६४ हजार ७३४ र सशस्त्र प्रहरी नायब निरीक्षक लेखबहादुर खत्रीले रु एक करोड छ लाख २९ हजार ७१२ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको प्रवक्ता पुष्करले जानकारी दिए ।
सामान ढुवानी नै नगरी सन्चालनमा नै नभएका ट्रान्सपोर्ट कम्पनीको झुटा बिल तथा भर्पाइ बनाएर राज्यकोषको दुरुपयोग गरेको, बुद्ध तथा यति एअरलाइन्सबाट कार्गो गरी मातहतका एकाइमा जिन्सी सामान ढुवानी गराएको भनी रकम लिएको, सामान ढुवानी गर्न भनी पेस्की लिएका भनिएका कर्मचारीका नाममा पेस्की शोधभर्ना भुक्तानी नदिइएको र दैनिक भ्रमण भत्ताका नाममा झुटा विवरण पेस गरेको अनुसन्धानबाट खुलेको छ । रासस