जनताको आलोचना र अरुची देख्दा बेला-बेलामा आफूलाई आत्महत्या गरौं-गरौं जस्तो लाग्छ : पौडेल

 नेपाली कांग्रेसका शीर्ष नेताहरुले संविधानको सफल कार्यान्वयन गर्दै मुलुकलाई समाजवादतिर अग्रसर गराउनु नै आफूहरुको लक्ष्य भएको बताएका छन् ।
पार्टीको १३औं महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेस नेताहरुले कांग्रेसको नेतृत्वमा नै ठूला-ठूला राजनीतिक परिवर्तन सम्भव भएको भन्दै अब संविधानको कार्यान्वयन गर्दै गणतन्त्रलाई संस्थागत गर्नु नै आफूहरुको लक्ष्य भएको बताए ।
अब देशलाई आर्थिक क्रान्तिको बाटोमा अघि बढाउनुपर्ने उनीहरुको भनाइ थियो ।
उद्घाटन समारोहमा कांग्रेस कार्यबहाक सभापति रामचन्द्र पौडेलले अब राजनीतिक मुद्दामामात्र अल्मिलिने समय नभएको भन्दै आर्थिक क्रान्तिको बाटोमा अघि बढ्नुपर्ने बताए ।
उनले संविधानको सफल कार्यान्वयनका लागि आफूहरु असन्तुष्ट पक्षहरुसँग छलफल गर्न पनि तयार रहेको बताए ।
‘राजनीति र नेताहरुप्रति जनताको आलोचना र अरुची देख्दा बेला-बेलामा आफूलाई आत्महत्या गरौं-गरौं जस्तो लाग्ने गरेको’ भन्दै पौडेलले राजनीति र नेताहरुप्रति रहेको नकारात्मक धारणा हटाउनु पनि आफूहरुको दायित्व हुने बताए ।
यस्तै, कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुककासामु देखिएका सबै चुनौतीको सामना गर्न कांग्रेस सक्षम रहेको बताए ।
उनले सबै पक्षका अधिकारहरु स्थापित गर्न र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने कुराको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताए ।
यस्तै, महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको नेतृत्वमा नै संविधान कार्यान्वयन सम्भव हुने बताए । इमेजखबरमा समाचार छ ।