दाङको धानखोलामा भएको यात्रुबाहक बस दुर्घटनामा परी ३३ जना यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको राप्ती अञ्चल सार्वजनिक यातायात समितिको ना४ख १०७६ नम्बरको बस गोवरडिया-१ मा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी प्रमुख कुवरे कडायतका अनुसार आज बिहान भएको उक्त बस दुर्घटनामा परी घाइते भएकामध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ । घाइते १६ जनाको उपचार बुटवलमा भइरहेको छ भन्ने अन्य १७ जना घाइतेको भालुवाङमा उपचार भइरहेको छ ।
बस विद्युतको पोलसँग ठोक्किएर उक्त दुर्घटना भएको थियो । एसपी कडायतका अनुसार चालक निदाएर वा अत्यधिक गतिका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । अधिकांश घाइते दाङवासी भएको बताइए पनि उनीहरुको नाम भने खुल्न नसकेको प्रहरीले बताएको छ । (रासस)