उपप्रधानमन्त्री विजयकुमार गच्छदारले टीकापुर घटनापछि निर्दोष व्यक्तिमाथि पनि झुठ्ठा मुद्दा लगाइएको भन्दै यस्ता मुद्दा सरकारले फिर्ता लिने बताएका छन्।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री गच्छदारले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा टीकापुर घटनापछि लगाइएका मुद्दाहरु अदालतमा विचाराधीन रहेको अवस्थामा निर्दोष व्यक्तिका यी मुद्दा फिर्ता लिन ढिलाई भएको दाबी गरे। उपप्रधानमन्त्री गच्छदारले भने -टीकापुर घटना दुःखद भएपनि सो घटनाका नाममा निर्दोषले सजाय पाउनु हुँदैन।
घटनाको छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदन सरकारले छिट्टै सार्वजनिक गर्ने उनले जनाए। तराई मधेसको आन्दोलन र थरुहट आन्दोलनका पीडितलाई क्षतिपूर्ति दिन सरकारले पहल गरिरहेको पनि उनले बताए।
गत भदौ ७ गते थरुहटसम्बद्ध प्रदर्शनकारीले गरेको प्रदर्शनका क्रममा टीकापुर भएको हिंसात्मक घटनामा परी आठ प्रहरी र एक बालकको ज्यान गएको थियो। रासस