सिटौलाद्धारा पहिलो बक्तब्य सच्याउँदै मतदानमा भाग लिन अपील

पहिलो चरणको निर्वाचनपछि देखिएको परिणाले पार्टी सभापतिका लागि दोस्रो चरणको चुनाव नगर्न प्रस्ताव गरेका नेता कृष्णप्रसाद सिटौलाले कुरा फेरेका छन्। पार्टी सभापतिको दोस्रो चरणको मतदानका लागि उनले महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन्।
 
दोस्रोपटक विज्ञप्ति जारी गर्दै सिटौलाले भनेका छन्, ‘पहिलो चरणबाट आएको परिणामलाई सहमतीय हिसाबले स्वीकार गरेर जाऔं भनेर मैले प्रस्ताव गरेको थिएँ, तर त्यो प्रयास सफल भएन।’ सिटौलाले लोकतान्त्रिक विधि र प्रक्रियालाई निरन्तरता दिएर पुनः मतदानमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन्।
 
यसअघि विज्ञप्ति जारी गरी सिटौलाले पहिलो चरणको परिणामलाई स्वीकार गरे सबैको भावना समेटिने र पार्टीलाई एकताबद्ध बनाउन सहज हुने जनाएका थिए। सिटौलाको उक्त प्रस्ताव सभापतिका प्रत्यासी रामचन्द्र पौडेलले स्वीकार नगरेपछि दोस्रो विज्ञप्ति आएको हो।  सेतोपाटीमा समाचार छ ।