महिला तथा बालिकामाथि हुने हिंसाका विरुद्ध पुरुषहरूको प्रतिबद्धता

 दर्जनौँ युवाहरूको एक समूहले आज अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा र्‍याली निकाल्दै महिला तथा बालिकामाथि हुने हिंसाका विरुद्ध प्रतिबद्धता व्यक्त गरेका छन् ।
१५ भन्दा बढी संस्थाहरूको आयोजनामा भएका पदयात्रा ललितपुरको लगखेलबाट सुरु भई कुमारीपाटी, जावलाखेल, पुल्चोक, मङ्गलबजार हुँदै पाटन दरबार क्षेत्रमा आई कोणसभामा परिणत भएको थियो ।
वरिष्ठ मानव अधिकारकर्मी तथा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष गौरी प्रधान पनि कार्यक्रममा सहभागी थिए । कार्यक्रममा बोल्दै उनले पुरुषहरूले आफ्नो परिवार, समुदाय तथा कार्यस्थलमा रहेका महिलाहरूप्रतिको जिम्मेवारी महसुस नगरेसम्म लैङ्गिक समानता असम्भव रहेको बताए ।
पुरुषहरूका अतिरिक्त करिब ५० महिलाहरूले समापन भेलामा ऐक्यबद्धता जनाएका थिए । त्यस क्रममा बोल्दै राष्ट्रिय महिला आयोगका सदस्यहरू धनेश्वरी चौधरी र उर्मिलादेवी विश्वकर्माले महिला र बालिकाहरूमाथि हुने हिंसा विरुद्ध कार्य गर्ने सबै पु्रुषहरू र सङ्घसंस्थालाई सहयोग गर्न आयोग तयार रहेको जानकारी दिए ।
कार्यक्रममा युवा कविहरू नवराज पराजुली, रूपेश भट्टराई र सौरभ बस्यालले महिला र बालिकामाथि हुने हिंसाबारे कविता प्रस्तुत गरे।
कार्यक्रमको समन्वय गरेको संस्था युवालयका अध्यक्ष सन्जोग ठकुरीका अनुसार सन् २०१५देखि २०३०का लागि निर्धारण गरिएको दिगो विकास लक्ष्य पूरा गर्नका लागि लैङ्गिक समानताका पक्षमा पुरुषको सहभागिता अनिवार्य भएको महसुस गरी कार्यक्रम आयोजना गरिएको हो । सेतोपाटीमा समाचार छ ।