कांग्रेस केन्द्रीय सदस्यकाे अन्तिम नतिजा साेमबारसम्म अाउने, निर्वाचनको मत चार स्थानमा गणना

नेपाली कांग्रेसले २५ जना खुला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मत चार स्थानमा गणना गर्न थालेको छ।
 
एक स्थानमा मात्र गणना गर्दा तीन दिनसम्म जम्मा ६ सय ५३ मत मात्र गणना भएपछि केन्द्रीय निर्वाचन समितिले शनिबारबाट खुला केन्द्रीय सदस्यको मत चार स्थानमा गणना गर्न थालेको हो।
 
खुला केन्द्रीय सदस्यमा ९० जना उम्मेद्वार रहेका कारण सबैलाई चित्त बुझाएर गणना गर्दा निकै समय लागेकाले पार्टी मुख्यालयमा मतगणनास्थल एकबाट ४ पुर्याइएको केन्द्रीय निर्वाचन समितिका सचिव प्रदिप पराजुलीले बताए। निर्वाचन समितिले दलित र मधेशीको मतगणनास्थल पनि  दुई/दुई पुर्याएको छ।
मतगणनास्थलको संख्या बढाइएसँगै मत गणनाको रफ्तार बढेको छ। प्रदेशतर्फको मत पनि शनिबारबाट गणना गर्न सुरु गरिएको छ। निर्वाचन समितिका सचिव पराजुलीले सबै मतपेटिका खोलिसकिएको र मत गन्ने स्थल पनि बढाइएकाले सोमबारसम्म सबै पदकाे अन्तिम नतिजा सार्वजनिक भइसक्ने बताए। 
 
नेपाली कांग्रेसमा ६१ जना केन्द्रीय सदस्य तथा सभापति, महामन्त्री र कोषाध्यक्ष चयनका लागि फागुन २३ गते निर्वाचन भएको थियो । निर्वाचन भएको ६ दिन बित्दा सभापति, महामन्त्री र कोषाध्यक्ष तथा मुस्लिमतर्फका एक जना केन्द्रीय सदस्यको मात्र अन्तिम नतिजा सार्वजनिक भएको छ । सेतोपाटीमा समाचार छ ।