काठमाडौँमा दोस्रो विश्व महिला सम्मेलन सुरु, ४६ राष्ट्रका प्रतिनिधिको सहभागिता

विश्वभरका महिलाको साझा समस्याको पहिचान र त्यसको निराकरणका उपायसहितका विभिन्न मुद्दाका विषयमा छलफल गर्न काठमाडौँमा दोस्रो विश्व महिला सम्मेलन आईतवारदेखि सुरु भएको छ। 
 
विश्वका महिला उच्च शिखर चुम्दैछन् भन्ने नाराका साथ सुरु भएको सो सम्मेलनमा ४६ राष्ट्रका प्रतिनिधिको सहभागिता रहेको छ। 
 
सभामुख ओनसरी घर्तीले सम्मेलनको उद्घाटन गर्दै स्वयम् महिला जागरुक नभएसम्म महिलाका अधिकारका लागि बनेका नीति कोरा कागजमा लेखिएका अक्षरमा मात्र सिमित हुने बताइन्। 
 
नेपालको संविधानले महिलाका हकअधिकारलाई धेरै हदसम्म सम्बोधन गरेपनि अझै त्यो पूर्ण नरहेको बताउँदै उनले भनिन् संविधानको प्रस्तावनामा नै लैङ्गिक विभेद अन्त्य हुने उल्लेख गरिनु निकै सकारात्मक हो । महिलाको पैत्रिक सम्पत्तिमा अधिकार, स्वास्थ्य, शिक्षा, नागरिकताजस्ता मुद्दामा संविधानले सम्बोधन गरी महिलाको अधिकारलाई विस्तार गरेको छ ।
 
सभामुखले महिलाले विश्वलाई जित्न असल नीति र असल सिद्धान्त यस सम्मेलनबाट पारित हुनेछ भन्ने आफूले विश्वास लिएको बताइन्। वल्र्ड वुमन्स कन्फरेन्स्ले आयोजना गरेको उक्त सम्मेलनमा विभिन्न मुलुकका महिलाले आ-आफ्ना मुलुकका महिलाको साझा समस्याको पहिचान र न्यूनीकरणका उपायको खोजी गर्ने छन्। 
 
चैत ५ गतेसम्म चल्ने उक्त सम्मेलनले विश्वभरका महिलाका लागि साझा घोषणापत्र जारी गर्नेछन् । रासस