तातोपानी नाका तत्काल खुलाउने पहल गर्न माग गर्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

सिन्धुपाल्चोकका उद्योगी व्यवसायीहरुले चीनसँग जोडिएको तातोपानी नाका तत्काल खुलाउने पहल गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।
नेपाल ट्रक कन्टेनर व्यवसायी संघ, सिन्धुपाल्चोक उपभोक्ता उद्योग वाणिज्य संघ र राष्ट्रिय वाणिज्य संघ सिन्धुपाल्चोकका प्रतिनिधिहरुले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर तातोपानी नाका तत्काल खुलाउने पहल गर्न माग गरेका हुन् ।
उनीहरुले भूकम्पपछि तातोपानी नाका ठप्प हुँदा सिन्धुपाल्चोकका व्यवसायीको आर्थिक अवस्था कमजोर भएको र मुलुकलेसमेत ठूलो क्षति बेहोरेको भन्दै चीन भ्रमणका क्रममा नाका खोल्ने पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
व्यवसायीहरुले खासामा पाँच अर्ब रुपैयाँ बराबरको सामान थन्किएको जानकारी गराएका थिए । उनीहरुले अरनिको राजमार्गको स्तरोन्नति गर्नसमेत माग गरेका छन् ।
त्यस क्रममा प्रधानमन्त्री ओलीले व्यवसायीहरुका मागप्रति आफू सकारात्मक रहेको भन्दै चीन भ्रमणका क्रममा ती मागलाई सम्बोधन गर्न प्रयास गर्ने आश्वासन दिए । – इमेजखबरमा समाचार छ ।