व्यवस्थापिका संसद्को अर्न्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न किसिमका भिसामा नेपाल आएका विदेशीहरुका गतिविधि बारेमा अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिले मंगलबार गृहसचिव नारायणगोपाल मलेगो, अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने, कन्सुलर सेवा विभागका महानिर्देशक गणेशप्रसाद ढकाल लगायतलाई बोलाएर छलफल गरी विदेशीहरुका गतिविधि अनुगमन सम्बन्धमा ठोस कार्ययोजना पेश गर्न समेत निर्देशन दिएको छ।
एउटा प्रयोजनका लागि आएको पर्यटक अर्कै प्रयोजनमा संलग्न हुने गरेको तर यसबारे जानकारी भएर पनि समन्वयको अभावमा सरकारी निकायहरुले बेवास्ता गर्ने गरेको भन्दै समितिले अनुगमनको कार्ययोजना पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो।
बैठकमा गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगोले मातहतका कार्यालयले विभिन्न भिसामा आएका विदेशीहरुका गतिविधिलाई नियाल्ने गरेको र भिसामा खुलाइएको प्रयोजन विपरितका गतिविधिमा संलग्न हुने पर्यटकलाई जरिवानासहित फिर्ता गराउने गरिएको बताए।
बैठकमा कन्सुलर सेवा विभागका महानिर्देशक गणेशप्रसाद ढकालले भिसा प्रक्रियामा कुनै समस्या नरहेको बताए। सेतोपाटीमा समाचार छ ।