व्यवस्थापिका संसद्को नियमावली मस्यौदा समितिले प्रस्तावित मस्यौदामाथि चैत ४ गतेबाट पुनः छलफल गर्ने भएको छ।
मस्यौदा समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले छलफलका लागि चार दिनको कार्यसूची तय गरेको छ। तीन सातापछि बसेको समितिको बैठकले विषयवस्तुमा प्रवेश गर्नुको साटो प्रस्तावित मस्यौदा पारित गर्नका लागि प्रक्रिया तय गरेको हो। समितिका सभापति राधेश्याम अधिकारीले एक दिनमा १० वटा परिच्छेद टुंग्याउने गरी कार्यसूची तयार पारिएको बताए। प्रस्तावित मस्यौदामा ३४ वटा परिच्छेद र १२ वटा अनुच्छेद् छन्। सभापति अधिकारीका अनुसार प्रस्तावित मस्यौदाका सबै विषय चार दिनभित्र टुंग्याउने र समितिले टुंग्याउन नसकेका विषयलाई राजनीतिक नेतृत्व तहमा लैजाने समझदारी भएको छ।
व्यवस्थापिका संसद्ले चौंथो पटक थप गरेको समितिको म्याद भने फागुन १९ गते सकिइसकेको छ। संसद्ले आफ्नो कार्यसंचालन नियमावली बनाउनका लागि असोजको २५ गते समिति गठन गरेको थियो। तर प्रमुख दलहरुबीच खासगरी संसदीय सुनुवाइ विशेष समिति गठनको विषयमा देखिएको विवाद्का कारण समितिले नियमावलीको मस्यौदालाई अन्तिम रुप दिन सकिरहेको छैन । सेतोपाटीमा समाचार छ ।