बेलायती राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ह्यारी नेपालको औपचारिक पाँचदिने भ्रमणमा शनिबार दिउँसो नेपाल आएका छन् ।
ह्यारी शनिबार दिउँसो पौने ३ बजे कतार एअरवेजको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसर पारेर बेलायतकी महारानीका प्रतिनिधिकारुपमा राजकुमार ह्यारी पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् ।
राजकुमार ह्यारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीलगायतले स्वागत् गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली र राजकुमार ह्यारीबीच शनिबारै शिष्टाचार भेटघाट हुने तय भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भने राजकुमार ह्यारीले आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्नेछन् ।
उनी आइतबार नै भूकम्पले क्षति पुर्याएका ललितपुर र भक्तपुरका सम्पदाको अवलोकन गर्ने कार्यक्रम छ ।
यसक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार स्क्वायर रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वकास्थलको अवलोकन गरी भूकम्पबाट भएको क्षतिबारे जानकारी लिनेछन् ।