नेपालगन्ज उपमहानगरपालिका वडा नं २७ पुरैनास्थित बालाजी कपास उद्योगमा भिषण आगलागी भएको छ। शनिबार बिहान ४ बजेदेखि सुरु भएको आगलागी ६ घण्टापछि मात्रै नियन्त्रणमा आएको छ।
नेपालगन्ज उपमहानगरपालिकाको दमकलले आगलागी नियन्त्रण गर्न नसकेपछि एक्साभेटर र डोजरले आगलागी भएको उद्योगको भवनलाई तोडफोड गरेर आगो नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरिक्षक रामबहादुर चन्दले बताए।
बिहान ४ बजे सल्केको आगो बिहान १० बजे मात्रै नियन्त्रणमा आएको थियो। बालाजी कपास उद्योग कच्चा पदार्थ संकलन गरी कपास प्रशोधन गर्दै आएको थियो।
उद्योगमा आगलागी हुँदा १ करोड २० लाख बराबरको क्षति भएको उद्योगका संचालक पवनकुमार बैश्यले बताए। स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको निरन्तरको प्रयासपछि आगालागी नियन्त्रणमा आएको छ। सेतोपाटीमा समाचार छ ।