प्रधानमन्त्री केपी ओलीद्वारा नेपाल सदैव एक चीन नीतिको पक्षमा भएको स्पष्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सदैव एक चीन नीतिको पक्षमा भएको स्पष्ट पारेका छन् ।
चीनको बेइजिङस्थित रेनमिन विश्वविद्यालयले आज गरेको नेपाल-चीन ‘थिंक ट्यांक डायलग अन द बेल्ट एन्ड रोड इनिसेटिभ’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको बताएका हुन् ।
उनले नेपालको कुनै पनि भूभाग चीनको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे । नेपाल र चीनबीचको सम्बन्ध सदियौं पुरानो, प्रगाढ र मैत्रीपूर्ण रहेको र सम्बन्धलाई अझ प्रगाढ बनाउन चीनको वान बेल्ट वान रोड नीति नेपालको विकासका लागि महत्वपूर्ण रहेको उनको भनाइ थियो । उनले नेपालको विकासका लागि वान बेल्ट वान रोडको नीतिले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यसैबीच चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज सांघाई कोअपरेशन अर्गनाइजेशन, एससीओको डायलग पार्टनरमा नेपाल सदस्य भएको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
क्षेत्रिय विकासको अवधारणामा स्थापित सो संगठनको कार्यालयमा नेपाल संगठनको डायलग पार्टनर बन्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकर बैरागी र एससीओको तर्फबाट महासिचवले हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री ओलीको आज व्यापारिक समुदायसँग अन्तरक्रिया गर्ने र साँझ बेइजिङस्थित नेपाली राजदुतावासले आयोजना चिनिया सञ्चारकर्मीहरुसँग अन्तक्र्रियामा सहभागी हुने कार्यक्रम छ । इमेजखबरमा समाचार छ ।