मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेइजिङस्थित तियानमेन स्क्वायरमा राखिएको जनवादी गणतन्त्र चीनका अध्यक्ष माओ त्से-तुङकोे पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार आज प्रधानमन्त्री ओलीले माओ त्से-तुङको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका हुन्।
यसअघि प्रधानमन्त्री ओलीले स्क्वायरमा रहेको चिनियाँ वीर सहिदको स्मारक स्तम्भमा पुष्पगुच्छा चढाएका थिए। प्रधानमन्त्री ओली तियानमेन स्क्वायर पुग्दा उनको सम्मानमा राष्ट्रिय धुुन बजाइएको थियो ।
प्रसिद्ध पर्यटकीय स्थलसमेत रहेको तियानमेन क्षेत्रमा नेपाल र चीनका झन्डा फहराइएका छन् ।
प्रधानमन्त्रीले आजै बेइजिङमा पिपल्स पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्सका अध्यक्ष यु चेनसेंगसँग ग्रेट हल अफ दि पिपुलमा भेटवार्ता गर्नेछन् भने बेइजिङको औपचारिक कार्यक्रमपछि हेनान प्रान्तको सान्या सहर जानेछन्।
प्रधानमन्त्रीले बिहीबार हाइनानमा एसियाको नयाँ भविष्य, नयाँ आयाम र नयाँ दृष्टिकोण विषयमा बोआओ मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेकोे विज्ञप्तिमा उल्लेख छ। रासस