शाही युवा शक्ति नेपालद्वारा राजतन्त्र पुनर्स्थापना गर्न आन्दोलनको घोषणा

शाही युवा शक्ति नेपालले आगामी जेठ १५ गते भित्रमा राजतन्त्र पुनर्स्थापना गर्ने लक्ष्यसहित आन्दोलनको घोषणा गरेको छ।  बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संस्थाले राजतन्त्र पुनर्स्थापनाकोलागि राजधानी केन्द्रीत सडक संघर्षको घोषणा गरेको हो।
 
चैत १२ गते राजधानीमा गणतन्त्रका विरुद्ध र राजतन्त्र पुनर्बहालीको पक्षमा विरोध सभा गरेर हुनेछ।
 
पत्रकार सम्मेलनमा सस्थाका अध्यक्ष पशुपति खड्काले गणतन्त्र विदेशीले लादेको एजेण्डा भएको भन्दै त्यसलाई कुनै पनि हालतमा विस्थापित गरेर नेपाली माटो सुहाउँदो राजसंस्थाको पुनर्स्थापनाको लागि आफूहरु जस्तोसुकै बलिदानी दिन तयार रहेको स्पष्ट पार्दै आवश्यक परे हतियार उठाउने घोषणा गरे।
 
उनले भने,जनआन्दोलनको एजेण्डा अर्कै थियो। जबर्जस्ती जनभावना विपरित गणतन्त्र ल्याइयो। यसले एउटा द्वन्द्वको अन्त्यको नाममा अर्को द्वन्द्वको बिउ रोपेको छ। नेपालको माटो सुहाउँदो व्यवस्था भनेको राजासहितको प्रजातन्त्र हो। त्यसको स्थापनाकोलागि हामी जस्तोसुकै बलिदान दिन पनि तयार छौं।
 
उनले थपे, मरिसकेको संसदीय ब्यवस्था त पुर्नस्थापना भयो भने राजतन्त्रत अहिले मुर्छित भएको, निदाएको र इन्जेक्सन लगाएर बेहोस बनाएको अवस्थामा मात्रै छ। पुनर्स्थापना हुन्छ हुन्छ।
 
महासचिव कृष्ण थापाले चैत्र १२ गतेको विरोधसभापछि जेठ १५ भित्र राजतन्त्र पुर्नस्थापना गर्ने गरी जनमत तयार गर्न राजधानी केन्द्रीत कार्यक्रमलाई तिव्रता दिन लागेको जानकारी दिँदै राजतन्त्रलाई पाखा लगाएर निर्माण गरिएको संविधान कार्यान्वयन हुनै नसक्ने ठोकुवा समेत गरे। सेतोपाटीमा समाचार छ ।