पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा रात्रिबस दुर्घटना, १४ जना घाइते

पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा आज बिहान दुईवटा रात्रिबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
बिहान करिब ४ बजेको समयमा काठमाडौँबाट विराटनगरका लागि गुडेको ना५ख ७१८९ नम्बरको रात्रिबसले बर्दिबास नगरपालिका-११ मा विपरीत दिशाबाट उखु बोकेर आइरहेको ज१त ७०८९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिँदा सो बसमा सवार ११ जना यात्रु घाइते भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
घाइतेमध्ये काठमाडौँका कुमार श्रेष्ठ र सुनसरीका सुलभ राईको अवस्था चिन्ताजनक रहेकाले दुवै जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
यता अन्य नौ जना घाइतेको उपचार बर्दिबासस्थित शुभस्वस्तिक अस्पताल र जनसेवा क्लिनिकमा भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी आजै बिहान ५ बजेको समयमा काठमाडौँबाट धरानका लागि गइरहेको ना५ख ९१३५ नम्बरको बस बर्दिबासको सोही स्थानमा सडकबाट तल पल्टिदा तीन जना घाइते भएका छन् । उनीहरुको उपचार पनि बर्दिबासस्थित स्थानीय अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए । (रासस)