सत्तारुढ दलका युवा तथा विद्यार्थी संगठनका नेताहरुले नेपाल आयल निगमले इन्धनको आपूर्ति सहज नतुल्याए तथा अर्न्तराष्ट्रिय बजार अनुसार मूल्य नघटाए परिणाम नराम्रो हुने चेतावनी दिएका छन्। सेतोपाटीमा समाचार छ ।
प्रमुख सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको उपस्थितिमा काठमाडौमा गरेको वहस कार्यक्रममा विद्यार्थी तथा युवा संगठनका नेताहरुले निगमले कालोबजारीलाई प्रोत्साहन गरेका कारण उपभोक्ताहरु मारमा परेको भन्दै आपूर्ति सहज नतुल्याए परिणाम नराम्रो हुने चेतावनी दिएका हुन्।
युवा संघका अध्यक्ष राजिव पहारीले २ सय ३५ वर्ष लामो इतिहास बोकेको राजसंस्थालाई युवा तथा विद्यार्थीहरुले आन्दोलनबाट फालेको तथ्य नभुल्न आयल निगमका कार्यकारी निर्देशक खड्कालाई चेतावनी दिए। उनले भारतबाट नियमित रुपमा इन्धन भित्रिरहे पनि निगमले कमिशनको चक्करका कारण जानाजान अभाव सिर्जना गरेको भन्दै अब आफूहरु धेरै दिन सहेर बस्ने पक्षमा नरहेको बताए।
यस्तै, एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले पनि निगमले कालोबजारी गरेकै कारण उपभोक्ताहरुले सहजरुपमा खाना पकाउने ग्याँस र डिजेल/पेट्रोल पाउन नसकेको भन्दै निगमको मनपरी नसहने बताए।
वहस कार्यक्रममा ग्याँस विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले भने ग्याँसको अभाव हुनुमा आयल निगम र ग्याँस उद्योगी दोषी रहेको बताए। उनले विभिन्न राजनीतिक दलका सांसद्हरुले नै ग्याँस उद्योगमा लगानी गरेको र उद्योगहरुले आयात कम भएको कारण देखाएर उपभोक्ताहरुलाई लुट्ने काम गरिरहेको भन्दै यस बारेमा आवाज बुलन्द पार्न युवा तथा विद्यार्थीहरुसँग आग्रह गरे।
कार्यक्रममा लोकगायक बद्रि पंगेनीले गीतमार्फत निगमका कार्यकारी निर्देशक खड्कासामु आम उपभोक्ताले सहजरुपमा इन्धन पाउन नसक्नुको कारण स्पष्ट पार्न आग्रह गरे।
युवा तथा विद्यार्थी संगठनका नेता तथा लोकगायक पंगेनीको तारो बनेका निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले भने भारतबाट मागको ८० प्रतिशत मात्र आयात भएका कारण उपभोक्ताहरुले माग अनुसार इन्धन पाउन नसकेको बताए। उनले खाना पकाउने ग्याँस त ६० प्रतिशत मात्र आयात भइरहेको र त्यही कारण उपभोक्ताले पालो पर्खनुपर्ने अवस्था कायम रहेको बताए। उनले आयात भएको इन्धन निगमले समानुपातिक रुपमा वितरण गरिरहेको दाबी गर्दै आफूले घुस लिएर कालोबजारी गरेको प्रमाण देखाउन चुनौति दिए।
उनले अनियमिता गरेको प्रमाण कसैले पेश गरे आफू राजिनामा दिन तयार रहेको बताए।
कार्यक्रममा उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ, मानव अधिकारकर्मी सुवोधराज प्याकुरेल लगायतले उपभोक्ताहरुले इन्धनको अभाव झेलिरहेको विषयलाई सरकार र राजनीतिक दलहरु कसैले पनि गम्भिरतापूर्वक नलिएको आरोप लगाएका थिए। सेतोपाटीमा समाचार छ ।