बहुचर्चित पनामा पेपेर लिक्समा ५०० भारतीयहरुले कर छलीका गतिविधि गरेको खुलेपछि भारत सरकारले उक्त मुद्धा छानबिनका निम्ति छुट्टै निकाय गठन गरेको छ। भारतीय अंग्रेजी दैनिक इन्डियन एक्सप्रेसका अनुसार वित्त मन्त्री अरुण जेट्लीले प्रधानमन्त्री नरेन्द्र मोदीको आदेशपछि उक्त छानबिन निकाय गठन गरिएको बताएका छन्।
प्रधानमन्त्री मोदी आफैंले उक्त विषय छानबिन गर्नुपर्ने बताउनु भएको छ। कुराहरु खुलासा हुनु राम्रो कुरा हो। विदेशमा गैरकानुनी सम्पत्ति राख्नेले सजाय भोग्नु पर्छ, जेटलीले भनेका छन्। खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्टस (आइसिआइजे)ले गरेको उक्त खोजमा भारतका तर्फबाट इन्डियन एक्सप्रेस सहभागी भएको थियो।
५०० भारतीयमा अभिनेता अमिताभ बच्चन, अभिनेत्री ऐश्वर्या राय, उद्धोगपति समिर गेलौट र केपी सिंह लगायतका छन् । पूर्ण विवरण क्रमशस् इन्डियन एक्सप्रेसले छाप्दैछ। जेटलीका अनुसार भारतीय केन्द्रीय बैंकसहितका उच्च अधिकारीहरु उक्त छानबिनमा सहभागी हुनेछन्।
यसै गरी आइसल्याण्डका प्रधानमन्त्री सिग्मंदुर डेभिड गुनलौग्सनको नाम पनि पानामा पेपेर्समा देखिएपछी उनको राजनीतिक भविष्य अन्यौलमा परेको छ। उनले सोमबार नै संसदमा अविश्वासको प्रस्ताव झेलादैछन्। उनकी श्रीमतीलाई पनामा कानुनी फर्मको सहायताबाट ब्रिटिस भर्जिन आइसल्याण्डमा कर छलीका निम्ति कम्पनी खडा गरेको पनामा पेपरमा उल्लेख छ। एजेन्सी, सेतोपाटी