सर्वोच्चमा वनमन्त्री एवं एमाओवादी अग्नि सापकोटा प्रमुख अभियुक्त रहेको हत्यासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु

सर्वोच्च अदालतले वनमन्त्री एवं एमाओवादीका नेता अग्नि सापकोटा प्रमुख अभियुक्त रहेको काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु गर्ने भएको छ । सर्वोच्चले सापकोटालगायत अन्य कार्यकर्ताविरुद्ध दायर मुद्दालाई संवैधानिक इजलासमा पठाएको छ ।
न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले आइतबार काभ्रेपलान्चोकका लामाको हत्यासम्बन्धी मुद्दामा फैसला गर्न संवैधानिक इजलासमा पठाउने निर्णय गरेको हो । सर्वोच्चले सापकोटालगायतविरुद्ध हत्या अभियोगमा कारबाही गर्न माग गर्दै परेको निवेदन द्वन्द्वकालीन मुद्दा भएको भन्दै संवैधानिक बेञ्चमा सुनुवाइ गर्न पठाएको हो ।
सरकारले द्वन्द्वकालीन मुद्दा हेर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरूको छानबिन गर्न आयोग गठन गरिसकेको छ । आयोग गठन भइसकेपछि पनि सर्वोच्चले द्वन्द्वकालीन मुद्दामा मुद्दामा फैसला गर्दै आएको छ । सर्वोच्चले द्वन्द्वकालीन मुद्दा भए पनि ओखलढुंगाका पूर्व सभासदद्वय बालकृष्ण ढुंगेल र केशव राईको मुद्दामा अन्तिम फैसला गरिसकेको छ ।
सर्वोच्चले द्वन्द्वकालीन समयको ढुंगेलको मुद्दाको फैसला पाँच जना न्यायाधीश सम्मिलित संवैधानिक इजलासले गरेको थियो । राईको मुद्दामा भने सर्वोच्चको संयुक्त इजलासले नै फैसला गरेको थियो । सर्वोच्चले लामाको हत्यामा संलग्न अभियुक्तहरूलाई पक्राउ गर्न २०६८ असार ६ मा आदेश दिए पनि प्रहरीले हालसम्म अनुसन्धान भइरहेको बहानामा अभियुक्तलाई गिरफ्तार गरेको छैन ।
सापकोटालगायत अन्य कार्यकताको संलग्नतामा २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझको कृष्ण माध्यामिक विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष रहेका लामाको अपहरणपछि हत्या भएको दाबी सर्वोच्चमा दायर निवेदनमा गरिएको छ ।
विद्यालयको बैठकमा सहभागी भइरहेका बेला लामालाई व्यक्तिगत काम छ भन्दै लगेर हत्या गरेको दाबी गर्दै लामाकी श्रीमती पूर्णिमाया लामाले दिएको रिटमा सर्वोच्चले सुनुवाई गर्न संवैधानिक इजलासमा पठाएको हो । इमेजखबरमा समाचार छ ।