मापदण्ड विपरीत सञ्चालन भएका आयुर्वेद चिकित्सालयको दर्ता खारेज गरिने

सरकारले निर्धारण गरेको मापदण्ड विपरीत सञ्चालन भएका आयुर्वेद चिकित्सालयको दर्ता खारेज गरिने भएको छ।  आयुर्वेद विभागमा दर्ता नभएका, जथाभावी विज्ञापन गरी भ्रम सिर्जना गरेका र पूर्वाधार नभएका उपचार केन्द्रलाई कारबाही गर्न लागिएको हो। 
 
कपाल झर्न रोक्ने, अर्बुद रोग निको पार्ने भन्ने जस्ता मिथ्या प्रचार गरी सेवाग्राहीलाई ठग्दैआएका उपचार केन्द्रको विभागले अनुगमन र नियमन गरिरहेको विभागका महानिर्देशक डा टेकराज पन्थीले जानकारी दिए।  
 
विभागले सामान्य क्लिनिक, पोलिक्लिनिक र अस्पताल सञ्चालनका लागि निश्चित पूर्वाधार तोकिदिएको छ। 
 
पोलिक्लिनिक तथा अस्पताल सञ्चालनका लागि योग, प्रयोगशाला, एक्स-रे, होमियोपेथिक, अकुपंचरलगायतको व्यवस्था अनिवार्य गरिएको र अनुगमनका क्रममा त्यस्तो नपाइएमा विभागले त्यस्तो व्यवस्था गर्न केही समय उपलब्ध गराउने व्यवस्था गरेको छ। सो अवधिमा पनि सुधार नभए दण्ड तोक्ने र दर्ता खारेजीसम्म गर्नसक्ने विभागका महानिर्देशक पन्थीले बताए।  रासस