५५ वर्षदेखि नेपाल बस्दै आएकी बेलायती पत्रकार बारबरा एडम्सको ८६ वर्षको उमेरमा काठमाडौंमा निधन

५५ वर्षदेखि नेपाल बस्दै आएकी बेलायती पत्रकार बारबरा एडम्सको ८६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। ब्रिटिश महारानी एलिजाबेथ नेपाल भ्रमणको क्रममा नेपाल आएर यतै बसोबास गरिरहेकी एडम्सको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा बेलुका साढे ७ बजे निधन भएको हो।
 
पेटसम्बन्धि रोगबाट पीडित भएपछि एडम्सलाई अस्पताल भर्ना गरिएको थियो। गत वर्ष बौद्धस्थित होटल ह्यातमा कार्यक्रममा सहभागी हुने क्रममा हृदयाघात भएको थियो। ग्राण्डी अस्पतालमा उनलाई लामो उपचार गरियो। तर महाभूकम्पका कारण अस्पताल क्षतविक्षत भएपछि उनलाई एयर एम्बुलेन्सबाट भारत उपचारका लागि लगिएको थियो।
 
अमेरिकामै २५ वर्षअगाडि उनको ओपन हार्ट सर्जरी भएको थियो। न्युयोर्कमा जन्मेकी उनी राजा महेन्द्रका भाइ बसुन्धरासँग एलिजाबेथ भ्रमणमा आएका बखत भेट भएपछि प्रेम सम्बन्धमा परेकी थिइन्।  तर त्यो सम्बन्ध औपचारिक रुपमा परिणत हुन सकेन। बसुन्धराको निधन भएपछि उनलाई पटक-पटक देश निकाला गरिएको थियो। लामो समयसम्म संघर्ष गरेपश्चात् उनले २०६५ सालमा नेपालको नागरिकता प्राप्त गरेकी थिइन्। 
 
उनको नेपालमै मर्ने अन्तिम इच्छा थियो। मर्नुभन्दा अगाडि उनले सुदूरपश्चिमको डडेलधुरा, बैतडी र दार्चुलाको ग्रामीण बस्ती, दलित तथा गरिब नेपालीका लागि घर बनाउने अभियान सञ्चालन गरेकी थिएन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभागमा उनले आफ्नो नामबाट बारबरा एडम्स खोज पत्रकारिता सम्मान स्थापना गरेकी थिइन्। सेतोपाटीमा समाचार छ ।