लामो समय पानी नपर्दा तराई चुरे क्षेत्रका ३६ जिल्लामा १६ लाख हेक्टर वन डढेलोको जोखिममा

वन तथा भू-संरक्षण मन्त्रालयले लामो समयसम्म पानी नपर्दा सुक्खा भएको तराई चुरे क्षेत्रका ३६ जिल्लामा १६ लाख हेक्टर वन डढेलोको जोखिममा रहेको बताएको छ। 
 
वन डढेलो व्यवस्थापनका चुनौती र प्रयासका बारेमा मन्त्रालयमा शुक्रबार भएको कार्यक्रममा चुरे क्षेत्रमा भौगोलिक विकटता, अति सुक्खापन क्षेत्र बढेका कारण १६ लाख हेक्टर वन क्षेत्र डढेलोको जोखिममा परेको हो। 
 
स्थान विशेषमा  नयाँ घाँस पलाउने आशमा, जङ्गली जनावरको सिकार गर्न सजिलो होस् भनेर तथा वन क्षेत्र अतिक्रमण गर्न  सजिलो हुने लोभले मानिसले जानी जानी वनमा आगो लगाउने गरेको तथ्य भेटिएको मन्त्रालयले जानकारी दिएको छ।  
 
प्रत्येक वर्ष चैत वैशाखको सुक्खा समयमा तराई र पहाडका वनमा जनचेतनाको कमीका कारण मानव सिर्जित कारणले ठूलो क्षेत्रमा डढेलो लाग्ने गरेको वन विभागका महानिर्देशक रेशमबहादुर डाँगीले जानकारी दिए। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को तथ्याङ्कअनुसार सन् २०१३ देखि हालसम्म नेपालको पूर्व र पश्चिमी क्षेत्रका तराई चुरे क्षेत्रमा बढी डढेलो लागेको देखिन्छ। 
 
गत वर्ष भन्दा यस वर्ष भने लामो समयसम्म पानी नपरेकोले बैशाखको  पहिलो हप्ता को अन्त्य सम्ममा करिब तीन लाख २५ हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको बन मन्त्रालयले बताएको छ। सेतोपाटीमा समाचार छ ।