पत्रकार बन्न अब नेपाल प्रेस काउन्सिलको परीक्षा पास गर्नुपर्ने

Photo8
पत्रकार बन्न अब नेपाल प्रेस काउन्सिलको परीक्षा पास गर्नुपर्ने भएको छ। काउन्सिलले यससम्बन्धी पाठ्यक्रमको तयारी गरिरहेको अध्यक्ष बोर्णबहादुर कार्कीले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार मेडिकल काउन्सिल, बार काउन्सिलजस्तै पत्रकारको परीक्षा लिने एउटा निकाय गठन गरिने छ।
 
पत्रकारिताको न्यूनतम् विषयमा जानकारी भएको व्यक्ति यसक्षेत्रमा आएमात्रै यसका विकृति नियन्त्रणमा आउने भन्दै काउन्सिलले पत्रकारका लागि परीक्षाको व्यवस्था गरेको हो।
 
पुराना पत्रकारका हकमा भने काउन्सिलले नै एउटा समिति बनाउने छ र त्यो समितिले कसले परीक्षा दिनुपर्ने कसले नदिनुपर्ने निर्णय गर्ने छ। 
 
सरकारले दिने सूचना विभागको पास पत्रकारभन्दा गैरपत्रकारले लिएकाले त्यो समितिले छानविन गर्ने अध्यक्ष कार्कीले बताए। त्यस्तो समिति भने पाठ्यक्रम बनाएर पास भइसकेपछि मात्रै बन्ने उनले बताए। 
 
पाठ्यक्रम बनाउन भने काउन्सिलले सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार रामकृष्ण तिमिल्सिनाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइसकेको छ। त्यस्तै, काउन्सिलले पत्रकारको वर्गीकरण पनि गर्ने भएको छ। संवाददातादेखि सम्पादकसम्मको वर्गीकरण गर्ने बताइएको छ।
 
पत्रकारको अनुभव वर्ष, क्षमतालगायत केही मापदण्ड बनाएर वर्गीकरण गर्न लागेको काउन्सिल अध्यक्ष कार्कीले सेतोपाटीलाई जानकारी दिए।
 
पत्रकारितामा धेरै वर्ष काम गरेका व्यक्ति पनि संवाददाता हुने र भर्खरै छिरेका पनि संवाददातै हुने हुँदा को कस्तो पत्रकार हो भनेर छुट्याउन अप्ठेरो भएको देखियो, उनले भने, यही परिपाटी अन्त्य गर्न पनि हामीले वर्गीकरण गर्न लागेका हौं।
 
प्रधानसम्पादक हुन कस्तो मानिस योग्य हुन्छ, समाचार प्रमुख कस्तोलाई बनाउने भनेर छान्न सजिलो हुने पनि उनले बताए। सेतोपाटीमा समाचार छ ।