सरकार परिवर्तनको गृहकार्यमा असफल भएपछि नेपाली कांग्रेसभित्र विवाद चर्किएको छ । पार्टी सभापति शेरबहादुर देउवा एकपक्षीय ढंगले अगाडि बढेकाले पार्टीको साख गिरेको दुई दर्जन केन्द्रीय सदस्यहरुको छुट्टै भेलाले निष्कर्ष निकालेको छ ।
सरकार परिवर्तन गर्ने योजनामा एमाओवादीले साथ नदिएपछि नेता प्रकाशमान सिंहको संयोजनमा बिहीबार दुई दर्जन कांग्रेस नेताहरुको बेग्लै भेला आयोजना गरिएको थियो ।
सोही भेलाको निष्कर्षअनुसार कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य प्रकाशमान सिंहलगायतका नेताहरुले शुक्रबारै सभापति देउवालाई भेटेर एकपक्षीय ढंगबाट अघि नबढ्न ध्यानाकर्षण गराएका छन् ।
सभापतिको ध्यानाकर्षण गराउन कोषाध्यक्ष यादव, केन्द्रीय सदस्य सिंहसहित मिनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना, दिलेन्द्र बडु, दिलबहादुर घर्ती लगायतका नेताहरु बुढानीलण्ठस्थित देउवा निवास पुगेका थिए ।
उनीहरुले सरकार परिवर्तनको गृहकार्यमा कच्चा खेलाडीको जस्तो व्यवहार देखाएको भन्दै देउवाप्रति असन्तुष्टि जनाएको स्रोतले बतायो । पार्टीलाई संस्थागत निर्णयका आधारमा अघि नबढाएको र तयारी राम्रो नगरेको हुँदा एमाओवादीलाई हात लिन नसकिएको र ओली सरकारले निरन्तरता पाएको निष्कर्ष असन्तुष्ट पक्षको छ ।