​प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति नभएको पररास्ट्र मन्त्री थापाको दावी

उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले वर्तमान सरकारले नै स्थानीय निकाय र संसदीय निर्वाचन गराउने दाबी गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री थापाले केपी ओली नेतृत्वको सरकारलाई अहिले कुनै चुनौति र त्यसमाथि प्रश्न उठाउने ठाउँ नभएको दावी गर्दै यही सरकारले नै स्थानीय निकाय र डेढ वर्षमा संसदीय चुनाव गराउने ठोकुवा गर्नुभयो ।
केपी ओली नेतृत्वको सरकारले बजेट ल्याउने र त्यसपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने भनेर बाहिर चर्चामा आएजस्तो सम्झौता नभएको दावी पनि गर्नुभयो ।
नेकपा एमाले र एकीकृत नेकपा माओवादीका बिचमा भएको पछिल्लो नौ बुँदे सहमति सार्वजनिक भइसकेको भन्दै उहाँले सहमति पत्रमा लेखिएका बाहेक अरु कुनै भद्र सहमति नभएको दावी गर्नुभयो । 
दुई दलबिच संविधान अनुसार नै द्वन्द्वकालीन मुद्दा न्यायपूर्वक समाधान गर्ने सहमति भएको जानकारी दिँदै अब द्वन्द्वकालीन मुद्दाका बारेमा सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गर्ने मन्त्री थापाले स्पष्ट पार्नुभयो ।