मधेशी मोर्चासहितको संघीय गठबन्धनद्वारा मुलुकको मुख्य प्रशासनिक निकाय सिंहदरबार घेराउ

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले मुलुकको मुख्य प्रशासनिक निकाय सिंहदरबार घेराउ गरेको छ । सेतोपाटीमा समाचार छ । 
तत्कालीन राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अनुसार पहिचानसहितका प्रदेश बनाइनुपर्ने माग गर्दै गठबन्धनले आइतबारदेखि सिंहदरबार घेराउ गरेको हो । सिंहदरबार घेराउका क्रममा गठबन्धनका नेता तथा कार्यकर्ता माइतीघर मण्डला र हनुमानस्थानमा धर्नामा बसेका छन् ।
 पार्टीको झण्डासहित धर्नामा बसेका गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताले सात प्रदेशको संविधान कुनै हालतमा स्वीकार नगर्ने भन्दै जातीय पहिचान कायम हुने गरी प्रदेशको सीमांकन गर्न माग गरेका छन् । त्यसक्रममा उनीहरुले सरकारविरोधी नारा लगाएका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गर्दै नारा लगाएका हुन् ।
गठबन्धनका नेता तथा कार्यकर्ता धर्नामा बसेका कारण सिंहदरबारको आसपासको क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । ट्राफिक प्रहरीले नयाँवानेश्वर हुँदै त्रिपुरेश्वर, सहिदगेट चल्ने सवारीसाधनलाई कोटेश्वरमा नै रोकेका कारण यात्रुहरु हिंडेर गन्तव्यमा पुग्न वाध्य भएका छन् ।
 नयाँ वानेश्वरमा संसद् भवन आसपास तथा सिंहदरबार आसपासको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरिएपनि प्रदर्शनकारीहरुले माइतीघर मण्डलामा एउटा सरकारी गाडी तोडफोड गरिदिएका छन् । यद्यपि गठबन्धनका नेताहरुले आफुहरुको प्रदर्शन शान्तिपूर्ण भएको दाबी गरेका छन् । उनीहरुले संविधानले हक अधिकार सुरक्षित नगरेका सबै समुदाय प्रदर्शनमा सहभागी रहेको भन्दै माग सम्बोधन नभएसम्म सिंहदरबार घेराउ कार्यक्रम जारी रहने बताएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पाँच महिनाभन्दा लामो मधेश आन्दोलनका वाबजुद पनि सरकारले माग सम्बोधनका लागि ठोस पहल नगरेपछि जनजाती सम्बद्ध पार्टीसहितको गठबन्ध बनाएर सिंहदरबार केन्द्रीत आन्दोलन सुरु गरेको हो । सेतोपाटीमा समाचार छ ।