जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा पाँचथरमा एकै परिवारका तीन जनासहित ५ जनाको मृत्यु भएको छ । नौ जना विरामी परेका छन् ।
पाँचथर आङना गाविस-१ स्थित वीरेन्द्र माङ्लाकको श्रीमती ४५ वर्षीया पदममाया माङ्लाक, छोरीहरु ५ वर्षीया सोनिका माङ्लाक, १३ वर्षीया कविता माङ्लाक, भाउजू पर्ने ३९ वर्षीया मनकुमारी माङ्लाक र थर्पु गाविस-६ स्थित धनबहादुर मावोको छोरी ११ वर्षीया एलिजा मावोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
शनिबार विहान ११ बजेतिर जङ्गलबाट ल्याएको च्याउ खाएर विरामी परेकी थर्पु गाविसकी ११ वर्षीया एलिजा मावोको जिल्ला अस्पतालमा उपचारको क्रममा अपरान्ह पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । आङ्ना-१ कि पदममाया मालाङ्कले जङ्गलबाट ल्याएको च्याउ सोमबार बेलुकी पकाएर खाँदा परिवारै विरामी परेका थिए ।
अज्ञात च्याउ खाएर विरामी परेका उनीसहित एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन् । झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा बुधबार ५ वर्षीया सोनिकाको मृत्यु भएको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ वर्षीया कविता माङलाक र उनकी आमा पदममाया माङ्लाकको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले बताए । पदममायाको छोरा १६ वर्षीया छोरा रामप्रसाद माङलाक र ८ वर्षीया मनुषा माङलाकको दमकमा उपचार भइरहेको छ ।
जङ्गलबाट ल्याएको अज्ञात च्याउ खाएर धनबहादुर मावोकी अर्की छोरी १४ वर्षीया पुष्पलत्ता मावो, ८ वर्षीया सृजना मावो, ५ वर्षीय छोरा प्रशान्त मावो विरामी छन् । जिल्ला अस्पतालमा उपचाररत उनीहरुमध्ये प्रशान्तको अवस्था गम्भीर भएकोले उपचारका लागि अन्यत्र लैजान सिफारिश गरिएको छ । कान्तिपुरमा समाचार छ ।