दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का मुख्य सचिव स्तरीय दुईदिने बैठक सुरु

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का मुख्य सचिव (क्याबिनेट सेक्रेटरी) स्तरीय दुईदिने बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बैठकको उद्घाटन गर्दै सार्क क्षेत्रमा आर्थिक समृद्धि ल्याउनका लागि सार्वजनिक सेवालाई चुस्त र प्रभावकारी बनाउनु आवश्यक रहेकामा जोड दिए ।

उनले यस क्षेत्रबाट गरिबी, अशिक्षा, भोकमरी, पछौटेपन अन्त्यका लागि सामूहिक प्रयासको खाँचो औँल्याउँदै यसका लागि आर्थिक समृद्धि र सुशासनमा ध्यान दिनुपर्ने बताए ।

सार्क स्थापनाको तीन दशक पूरा हुँदा यसले यस क्षेत्रको जनअपेक्षालाई अझ प्रभावकारी रुपमा सम्बोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, सार्कको क्षेत्रीय सहयोगलाई अझ बलियो बनाउँदै यसको अभिवृद्धि गर्नु जरुरी छ ।

प्रधानमन्त्री ओलीले सार्क विकास कोषमार्फत यस क्षेत्रलाई पूर्वाधार विकासका लागि यातायात र सञ्चारमा थप अन्तरसम्बन्ध (कनेक्टिभिटी) गर्न, रोजगारीका अवसर सिर्जना गर्न जोड दिए ।


बैठकमा सार्कमा आबद्ध आठ देशका मुख्य सचिव तथा पर्यवेक्षक देशका उच्च अधिकृतको समेत सहभागिता छ । सार्कमा आबद्ध सदस्य देशका शासकीय अवस्था र अभ्यासका बारेमा मन्थन गर्दै यस क्षेत्रमा शासकीय सुधारमा भइरहेका प्रयास तथा साझा समस्या एवम् समाधानका विषयमा बैठकमा छलफल हुनेछ ।

गत वैशाखमा पोखरामा सम्पन्न सार्क मन्त्रीस्तरीय बैठकपछि यो बैठक काठमाडौँमा आयोजना भएको हो । पाकिस्तानमा आयोजना हुने सार्क सम्मेलनका लागि यी बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

यस किसिमका बैठकमा सदस्य देशले शासकीय सुधारमा अपनाइरहेका विधि र प्रक्रियाका बारेमा छलफल गर्दै सार्कको वडापत्र र सिद्धान्तलाई पूरा गर्न साझा विषयहरु पहिचान गरी कार्यान्वयनमा ल्याउने छन् ।

नेपालको संविधान विश्वको उत्कृष्ट संविधान: प्रम ओली

सार्वभौमसत्ता सम्पन्न, समावेशीताको उत्कृष्ट नमुना रहेको संविधानसभाले नेपाली जनताको चाहनामा नेपालको संविधान जारी रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले संविधानले गणतन्त्रलाई संस्थागत विकास त गरेकै छ, जनताको अधिकारलाई पनि सुनिश्चित गरेको बताए ।

उनले भने, नेपालको संविधान विश्वको उत्कृष्ट संविधान बनेको छ । संविधानसभाका ९२ प्रतिशत सभासद्ले यसमा सहमति जनाउनुभएको छ । उनले संविधानले सबै विभेदलाई अन्त्य गर्ने विश्वाससमेत व्यक्त गरे ।

सार्क महासचिव अर्जुनबहादुर थापाले सार्क स्थापनाको तीन दशकमा गरिबी निवारण, क्षेत्रीय विकास, शान्ति र समृद्धिमा उल्लेख्य प्रगति एवम् सफलता हासिल गर्दै गएको बताए । उनले अगामी वर्ष पाकिस्तानमा आयोजना हुने सार्क सम्मेलनमा कृषि एवम् पूर्वाधार विकासका क्षेत्रमा छलफल हुने जानकारी दिए ।

मुख्य सचिव डा सोमलाल सुवेदीले सार्वजनिक सेवामा जनताको अपेक्षा बढ्दै गएको चर्चा गर्दै यस्ता सेवालाई छिटो, छरितो र चुस्त बनाउनुपर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रण गर्दै समावेशी विकास र आर्थिक समृद्धिबाट सुशासन ल्याउन सकिने विचार व्यक्त गरे ।रासस