भूकम्पपछिको पुनःनिर्माणको काम अघि बढाउन नसकेको भन्दै व्यवस्थापिका-संसदमा चर्को आलोचना खेपेपछि त्यसबारे छलफल गर्न विहीबार (आज) एमाले संसदीय दलको बैठक बसेको छ ।
पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बोलाएर एमालेले पुनःनिमाणको सन्दर्भमा भइरहेका कामबारे जानकारी लिएको हो ।
त्यसक्रममा कार्यकारी निर्देशक ज्ञवालीले पुनःनिर्माणको सन्दर्भमा प्राधिकरणले तीव्रताकासाथ काम गरिरहेको र यसमा सबै पक्षको सहयोग आवश्यक हुने बताएका थिए ।
यस्तै, प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पुनःनिर्माणको काममा हुने ढिलासुस्ती स्वीकार्य नहुने भन्दै तत्काल पीडित जनताले महसुस गर्ने गरी काम गर्न निर्देशन दिएका थिए ।
बैठकमा पुनःनिर्माणको विषयमा संसदमा उठेका कुरा र अब गर्नुपर्ने कामबारे छलफल भएको एमाले सांसद गंगालाल तुलाधरले हामीलाई जानकारी दिए ।
बैठकमा एमाले सांसदहरुले स्थानीय समुदायको सहभागिता र समन्वयमा पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्ने बताएका थिए । इमेजखबरमा समाचार छ ।